Logo

दुबईमा अलपत्र यात्रु नेपाल आइपुगे



काठमाडौँ, २१ असोज । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन् । टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन् ।

बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २ः ३० बजे नेपाल आइपुगेका हुन् । जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए । अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन् ।

नेपाल आएका यात्रु सुवास न्यौपाने हिमालय एयरलाइन्सको फितलो व्यवस्थापन र गैरजिम्मेवारीका कारण छ जना यात्रुले उडान रद्द गरेर फर्किएको र दुबईबाट उडान समयभन्दा थप आधा घण्टा ढिलो गरी उडान भरेको बताए । उनले भने, “आफ्नै देशको जहाज चढेर नेपाल आउन खोज्ने नेपाली यात्रुले दुःख मात्र भोगेनन्, अन्तर्राष्ट्रिय जगत्मा समेत नेपाली वायुसेवाको गुणस्तरमाथि प्रश्न उठेको छ । एयरलाइन्सको गैरजिम्मेवारीकै कारण विदेशी नेपाल आएनन् ।”

उडानका लागि यात्रुलाई जहाजमा राख्दा एउटा मात्रै भ(याङ प्रयोग गरिएको र उडानका क्रममा जहाजमा रहेका पसल (अनबोर्ड ड्युटी पेड सप) मा समेत सामानको मूल्य अचाक्ली महँगो भएको उनले गुनासो गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्