Logo

भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचे’



बाँके, १९ कात्तिक । जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी शुक्रवार रातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए ।

उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्यँुझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए ।

घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।”

काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भने, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पु¥याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।”

मन्दीपले काकालाई शनिवार बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपु¥याएका हुन् । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए ।

विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए । शनिवार राति घरमा उनी एक्लै थिए । उनकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमलकुमारले भने ।

भगवान्ले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन् । उनले म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमान्लाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताए । उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाइन् । उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताइन् ।

चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरिन् । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।

हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्