Logo

विकल्प ः मष्तिष्कमा माक्र्सवाद गुदी भर्न सक्ने पुस्तक



‘विकल्प ः समता, समाजवाद र मुक्त दुनिया’ २०८० साल असोजमा सार्वजनिक राम कार्की ‘पार्थ’ को पुस्तक हो । यस पुस्तकमा लेखकले आफ्ना ३३ वटा पूर्वलिखित विचारमूलक लेखरचना समावेश गरेका छन् । यस पुस्तकको अध्ययन गरेर पाठकले आफ्ना मष्तिष्कमा माक्र्सवादी गुदी भर्न सक्नेछन् । पुस्तकमा प्रस्तुत केही महत्वपूर्ण विचार ः

१. समाज वाचाल छ । पुरानो मर्दै जान्छ । नयाँ जन्मँदै जान्छ । दुई विपरीतबीचको सङ्घर्षमा कहिले दुवै पक्ष नष्ट हुन्छन् र नयाँ पैदा हुन्छ । कुनै वस्तु र घटना विकल्परहित हुँदैनन् । हरेक विकल्पलाई अग्रगामी बनाउने प्रयत्न क्रान्तिकारी र माक्र्सवादीले गर्नुपर्छ । वर्तमान अवस्था र व्यवस्थाको रक्षा गर्नु भनेको यसैमा अडिरहनु होइन । अगाडि बढेर मात्र रक्षा सम्भव हुन्छ । इतिहासले वर्तमानमाथि शासन गर्ने स्थितिमा समाज ध्वस्त हुन्छ । पुराना नेताहरुले इतिहासको भारी नबोकौँ । हामीले यहाँसम्म ग¥यौँ, अब तपाईँहरु तयार हुनुहुन्छ भनेर नयाँ पुस्तालाई प्रस्ताव गरौँ ।

२. श्रमिकवर्गलाई शिक्षा र स्वास्थ्यमा ढुक्क बनाउनुपर्छ । यसबाट जनतामा स्वतन्त्रताको अनुभूति हुनेछ । विकास भनेको स्वतन्त्रता हो । स्वतन्त्र जनताको पहलमा समाजवादतिर लम्किन सकिन्छ । पुँजीवादले विकल्प खोज्न बाध्य बनाउँछ । पुँजीवाद मानवमैत्री र जीवनमैत्री छैन । विकासको नाममा प्रकृति र ब्रह्माण्डकै दोहन गर्न उद्यत छ । समाजवाद कमजोर हुँदा पनि राम्रोसँग अघि बढ्न सकेको छैन । यसमा खोट छ । पछिल्लो समय लोकतान्त्रिक समाजवादीले भन्ने गरेको लोक कल्याण्कारी राज्यको तेस्रो बाटो पनि ध्वस्त भएको छ । त्यसैले समाजवाद एक मात्र विकल्प भएको छ ।

३. समाजवाद उन्नत लोकतन्त्र हो । जसमा अल्पसंख्यकको लोकतन्त्रलाई बदलेर बहुसंख्यकको लोकतन्त्र बहाली हुन्छ । तर, माक्र्सवादको लक्ष्य समाजवाद होइन । साम्यवादमा पुग्ने एउटा चरण हो । साम्यवाद आवश्यकताको संसार छाडेर स्वतन्त्रताको संसारमा प्रवेश गर्ने प्रस्थान विन्दु हो । जहाँ उत्पादनको पहिलो हकदार सम्बन्धित श्रमिक हुने भएकाले बाध्यतामा होइन, रहरमा श्रम गरिन्छ । श्रम गर्न जाने बेलामा मानिस प्रसव पीडाका बाबजुद बच्चा जन्माएर काखमा राख्न पाएपछि वास्तवमै रमाउने आमा जस्तै हुनेछ ।

४. समाजवादको ब्लु प्रिन्ट तय गर्न जरुरी छैन । काल्पनिक समाजवादीले मात्र त्यसो गरेका थिए । स्वयम् माक्र्सले पनि समाजवादी व्यवस्थाको धेरै चर्चा गरेका छैनन् । जुन समाजले आफैँ तय गर्दै जान्छ । यो भनेको पट्याएको कागज विस्तारै खुले जस्तै हो । तर, राजनीतिक कार्यदिशा स्पष्ट र सही हुनुपर्छ । सैद्धान्तिक–वैचारिक आधार तयार गर्नुपर्छ । जुन बृहत र व्यवस्थित छलफलबाट तय हुन्छ । जनवर्गलाई सहभागी गराएर समाधानहरु खोज्नुपर्छ । विगतदेखि नै यस्तो हुन सकिरहेको छैन । सिद्धान्तको खडेरी छ । निजी स्वार्थको बाढी छ । सबै पार्टीहरु सहभोजमा टपरी बोकेर लाम लागेका जस्ता छन् । कुनै समय शान्ति र संविधानको कार्यदिशालाई आलोचना गर्ने काम भइरह्यो तर देश र पार्टी त्यही दिशामा हिडिरहेका थिए ।

५. कम्युनिस्ट पार्टीको सदस्य हुनु भनेको कम्युनिस्ट हुन सुरु गर्नु हो । तयार छुँ भन्नु हो । व्यवहार, संस्कार र चिन्तनमा देखिनुपर्छ । आर्थिक पारदर्शिता मुख्य गुण हो । आलोचनात्मक चेत जरुरी छ । हिजो बगिरहेको नदीको उल्टो दिशामा समेत अघि बढेर आजको ठाउँमा आइपुग्ने अनि भनाइ र गराइको अन्तर पाएपछि त्यो आदर्श उपेक्षित छ । उपभोक्तावादी संस्कृति र अलोकतान्त्रिक शैलीले उपलब्धी व्यवहारमा अनुवाद हुन पाएका छैनन् । सिद्धान्तलाई धर्म, नेतालाई देवता र आन्दोलनलाई समेत अनुष्ठान बनाउने परिपाटी मुख्य समस्या हो । देवीभक्तिले भलो भएको छैन । मानिसलाई सबल र दुर्बल पक्षको समष्टीको रुपमा बुझ्नुपर्छ ।

६. अक्टोबर क्रान्तिलाई नोम चोम्स्कीले प्रतिक्रान्ति भने । उता केही लोकतान्त्रिक समाजवादीले समेत महान् क्रान्ति भनेका थिए । तर, राजनीतिक सत्ताको प्रश्नमा माक्र्सवादभित्र कतिपय रिक्तता र कमजोरी रहेकै हुन् । राज्य एउटा वर्गको सेवा गर्ने साधन हो भन्ने बुझाउन माक्र्सले धेरै मेहनत गर्नुपरेको थियो । लेनिनले पनि त्यसलाई दह्रोसँग आत्मसात गरे । सत्तामा आएपछि क्रान्तिकारी नै प्रतिक्रान्तिको सेवक वा निरन्तर क्रान्तिको बाधक बन्ने प्रश्नमा भने प्रवेश गरिएन ।

७. भाषिक, धार्मिक, लैङ्गिक, सांस्कृतिक आदि शोषणलाई राजनीतिले बैधता दिएको हो । त्यसैले सङ्घर्ष पनि राजनीतिक नै हुनुपर्छ । जातीय नीतिले वर्गलाई बिर्सिएपछि जातिभित्रको उत्पीडक अंशलाई बाहेक गर्ने काम सम्भव भएन । सम्बन्धित जातिभित्र सरदार तयार पारी ढाँट्ने बुर्जुवा दृष्टिकोण हो । जहाँ लोकतान्त्रिक समाजवादी सत्तामा पुगे, त्यहाँ लोकतन्त्रको सामाजिक आयाम उपेक्षित रह्यो । कम्युनिस्ट शासनमा पुगेका बेला लोकतन्त्रको राजनीतिक आयामप्रति घोर उपेक्षा हुने गरेको छ ।

८. संसदीय लोकतन्त्रमा जनताको सरोकार र सहभागिता केबल निर्वाचनमा सीमित छ । निर्वाचनमै पनि जनताको सहभागिता घट्दो छ । लोकतन्त्रका बाहक राजनीतिक पार्टी हुन् । बोकेर अगाडि र पछाडि जता पनि लैजान सक्छन् । कुना कन्दरामा लोकतन्त्र पु¥याउने बाहकहरु स्वयम्को लोकतान्त्रिकरण र क्रान्तिकारीकरण हुन सकेन भने लोकतन्त्रको बिस्कुनमा तानाशाहले दाइँ खेल्न सक्छन् । पुराना दमनकारी संयन्त्रलाई छुट्टी दिन सकिएन भने आफ्ना सिपाहीलाई कुनै पनि बेला त्यहाँबाट फर्काउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्