Logo

बुद्धशान्तिको वडा कार्यालय निर्माणमा भ्रष्टाचार ! अख्तियारले थाल्यो अनुसन्धान



झापा, २१ मंसिर । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन थाले पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानवीन थालेको छ ।

स्थानीयले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेर अनियमितता गरेको उजुरी दिए पछि आयोगले छानवीन थालेको हो । अख्तियारको प्राविधिकसहितको छानवीन टोलीले बुधवार वडा कार्यालय भवनको निरीक्षण तथा नापजोख गर्दै स्थानीय र उपभोक्ता समितिका केही पदाधिकारीसँग सोधपुछ गरेको छ ।

दुई वर्ष अघि लगभग ७२ लाखको लागतमा निर्माण भएको कार्यालय भवन वर्षामा चुहिने गरेको छ । भवन निर्माण भएको एक वर्ष पछि नै चर्किएको थियो । भवन चर्किने र चुहिने भए पछि स्थानीयले अख्तियारमा उजुरी गरेका हुन् । तत्कालीन वडा अध्यक्ष दीलिपकुमार श्रेष्ठले उपभोक्ता समिति गठन गरेर ठेकेदारमार्फत भवन निर्माण गराएका थिए । अध्यक्ष श्रेष्ठले भवन निर्माण उपभोक्ता समिति बदनियतपूर्ण तरिकाले गठन गरेको स्थानीयको आरोप छ । उपभोक्ता समितिले भवन निर्माण गर्न स्थानीय झरेन्द्र श्रेष्ठलाई ठेक्का दिएको थियो ।

वडाध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनले एमालेका सोही वडाका अध्यक्ष पुष्प भण्डारीलाई उपभोक्ता समितिको अध्यक्ष बताए । सहोदर भाइ अमिरकुमार श्रेष्ठलाई सचिव र निर्माण अनुगमन समितिको संयोजक भाइका ससुरा शेरबहादुर कडरियालाई बनाए । वडाध्यक्षले स्थानीयको उपस्थितिमा उपभोक्ता समिति गठन नगरी गुपचुप गठन गरेको स्थानीयको आरोप छ ।

अख्तियारमा उजुरी परे पछि उपभोक्ता समितिका पदाधिकारीले चर्किएको भवन टाल्न लगाएका थिए । निर्माणमा भएको कमजोरी लुकाउन टाल्न थाले पछि स्थानीयले विरोध गरेका थिए । र, उनीहरुले चर्किएको ठाउँ टाले पनि रंगरोगन गर्न भने दिएनन् । स्थानीयले भवन निर्माणको छानवीन गरी दोसीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्