Logo

‘इन्डियन आइडल’की प्रतिस्पर्धी मेनुकाको घरको तस्बिर खिच्न प्रतिवन्ध !



झापा, २७ मंसिर । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ घर भएकी फरक क्षमताकी मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा छिन् । भारतीय सञ्चारमाध्यममा चर्चामा रहेकी मेनुकाको नेपाली सञ्चारमाध्यममा चर्चा नहुने कुरै भएन ।

तर, नेपाली नागरिक मेनुकाको इन्डियन आइडलमा भएको सहभागिताको प्रक्रियाका विषयमा केही प्रश्न उठेको छ । ‘इन्डियन आइडल’ मा गैरभारतीयले भाग लिन नपाउने व्यवस्था छ । अरु भारतीय रियालिटी शोमा गैरभारतीयले भाग लिन पाए पनि इन्डियन आइडलमा भारतीय नागरिकले मात्रै प्रतिस्पर्धा गर्न पाउँछन् । बिगतमा दार्जिलिङका नेपाली भाषी प्रशान्त तामाङले उपाधि जितेका थिए । तर, नेपाली नागरिकले भने इन्डियन आइडलमा अडिसन दिएर छनोट हुने मेनुका पहिलो हुन् ।

मेनुका कुन प्रक्रियाबाट इन्डियन आइडलमा सहभागी भइन् भन्ने खुलेको छैन । नेपाली सञ्चारमाध्यमले इन्डियन आइडल सञ्चालन गर्ने टेलिभिजनले नीति बदलेको अनुमान गरेका थिए । तर, बुधवार उनको घर पुगेका पत्रकारलाई घरको तस्बिर खिच्न र प्रतिक्रिया नदिएको घटनाले मेनुका भारतीय परिचयबाट सहभागी भएको अनुमान गर्न थालिएको छ । कतिपय नेपाली सञ्चारमाध्यमले मेनुकाले भारतीय रासन कार्ड वा आधार कार्ड लिएको अनुमान गरेका छन् । अडिसनको फुटेजमा मेनुकालाई जजहरुले कुन ठाउँबाट आएको प्रश्न गरेका छैनन् भने मेनुकाले पनि आफु नेपाली भनेकी छैनन् ।

पत्रकारको एक समूह बुधवार मेनुकाका परिवारका सदस्यको प्रतिक्रिया लिन उनको घर गएको थियो । घरमा मेनुकाकी मामली हजर आमा रत्नमाया गौतमले तस्बिर नखिच्न आग्रह गरिन् । पत्रकारको परिचय दिए पनि छोरी (मेनुकाकी आमा)ले कसैलाई घरको तस्बिर खिच्न नदिनु र प्रतिक्रिया पनि नदिनु भनेको बताइन् । वृद्ध अवस्थाकी रत्नमायाले कुरा नबुझेर तस्बिर नखिच्नु भनेको हो कि भन्ने प्रश्नमा छिमेकीले पनि तस्बिर नखिच्न आग्रह गरे । के कारण होला भन्ने प्रश्नमा छिमेकी भन्दै थिए, ‘कारण त थाहा भएन, तर अघिल्लो पटक पनि बिग्रियो, यस पटक नबिग्रियोस भनेर हो ।’ उनले मेनुकाकी आमाले तस्बिर खिच्न नदिनु र प्रतिक्रिया पनि नदिनु भनेको बताए ।

मेनुका सन् २०१८ मा भारतको चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा सहभागी भएकी थिइन् । उनी त्यसबेला पनि चर्चाको शिखरमा थिइन् । धेरैले तारिफ गरेका थिए । तर, प्रतिस्पर्धामा टप ११ भन्दा अघि बढ्न सकिनन् ।

झापा गरामनीको दुर्गा माविमा २०६५ सालमा भर्ना भएकी मेनुकाले विद्यालयबाट गायन यात्रा आरम्भ गरेकी थिइन् । उनी रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भइन् । नेपाल आइडलको प्रथम सिजनमा उनी टप १० सम्म पुगेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्