Logo
  चैत्र १६, २०८० शुक्रबार

वातावरणीय जोखिम र हाम्रो दायित्व



                                    एकराज गिरी

पृथ्वीको चारैतिर फिजिएको हावा अर्थात आसपासको प्रत्यक्ष–अप्रत्यक्षरुपले प्रभाव पार्ने अवस्था,परिस्थिति भनी नेपाली वृहत शब्दकोशले अथ्र्याएको ‘वातावरण ’ शब्द अहिले सर्वत्र बहसको विषय बनिरहेको छ । आज अर्थात जून ५ तारिकका दिन मनाइदै आएको विश्व वातावरण दिवसले पनि हरेक वर्ष यसलाई सम्झन बाध्य छ– विश्व मानव समुदाय । दैनिक तीब्र गतिमा भइरहेको  वातावरण परिवर्तन र यसको नकारात्मक प्रभावले यसप्रति सबैको चासो र चिन्ता बढेको छ । नेपालको भौगोलिक बनोट नै जटिल ,विविध र संवेदनशील रहेकाले वातावरणीय दृष्टिले पनि छिट्टै प्रभावित हुने र बढी जोखिमपूर्ण देखिएको छ । विश्वको कुल भूभागको ०.०३ प्रतिशत ओगटेर १,४७,१८१ वर्ग किलोमिटरमा फैलिएको छ नेपाल ।  जसमध्ये १४ प्रतिशत तराई,१३ प्रतिशत चुरिया,३० प्रतिशत उच्च पहाड र २३ प्रतिशत हिमाली क्षेत्रले ओगटेको छ । समुन्द्र सतहबाट ६० मिटरदेखि ८८ मिटरको उचाइमा विविधता रहेकोले हावापानीमा आउने सानो परिवर्तनले पनि वातावरणीय प्रभाव बढ्दो छ । तापक्रम दैनिक बढदैछ ।  पृथ्वी तात्दै जाँदा वातावरणीय सन्तुलनमा भएको गडबडीका कारण विश्वव्यापी रुपमा देखा परेको ‘जलवायु परिवर्तन’ अहिलेको सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रको जल्दोबल्दो  सवाल बनेको छ । वातावरण एउटा व्यापक क्षेत्र भएपनि हावापानी र मौसम नै यसको मुख्य पाटो हो ।त्यसैले यहाँ जलवायु, यसको परिवर्तन ,परिवर्तनको कारण बारे सबैमा साझा बुझाइ अहिलेको आवश्यकता हो ।
आज हामी आफै वातावरण परिवर्तनका विभिन्न संकेतहरु अनुभव गरिरहेका छौं । जस्तै ः पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानको समस्या बढ्यो । धान रोप्न बेलामा पानी परेन । पाकेको धान काट्ने बेलामा पानी पा¥यो । लेकतिर पनि लामखुट्टे फैलन थाले । दुई तीन महिना पहिल्यै काफल पाक्यो । चैतमा फुल्ने लालीगुराँस माघ महिनामै फुल्यो । हिउँ पर्ने ठाउँमा गर्मी ठाउँका अन्न, फलफूल र तरकारी खेती हुन थाले । बेसीमा बस्ने चुराचुरुङ्गी तथा जीवजन्तु लेकतिर देखिन थाले ।  हिमालमा हिउँ पर्न छाड्यो । हिउँ पनि तीब्र गतिमा पग्लियो । चाँदी जस्तै चम्कने हिमाल काला टाकुरा मात्र देखिन थाले । हिमतालहरु फुट्न थाले । पहाडमा तुवालोले हिमाल खुल्न छाडे । मधेशमा हिउँदे धामको दर्शनसम्म पाउन छाडियो । शीत लहरले सयौं मानिस मरे ।
हिउँद तथा बर्षाका दिनहरु बदलिन थालेका छन् । गर्मीका दिनहरुमा वृद्धि भएको छ । अघिअघि गर्मी महसुस नगरिएका ठाउँमा हपहपी गर्मी हुन थालेको छ । यसरी हेर्दा  लामो समयदेखि जलवायुका सूचकहरु(हावा, पानी तथा तापक्रम)मा आएको भिन्नताले जल र वायुको चक्रमा पनि परिवर्तन ल्याएको छ ।
 यो सन्दर्भमा सर्वप्रथम जलवायु परिवर्तनका कारण  पहिचान गर्नु उपयुक्त हुन्छ । जलवायु परिवर्तन  प्राकृतिक प्रक्रिया भए तापनि मानवीय क्रियाकलापहरूका कारण केही दशक यता पृथ्वीको जलवायु असामान्य र तीब्र किसिमले परिवर्तन हुँदै गएको छ । यसरी जलवायु परिवर्तन हुनुमा मानव सिर्जित हरितगृह ग्याँसको मात्रा वायुमण्डलमा बढ्दै जानु हो । विभिन्न किसिमका मानवीय क्रियाकलापहरूले गर्दा हरितगृह ग्याँसको मात्रा वायुमण्डलमा दिनानुदिन बढ्दै गइरहेको छ । वायुमण्डलमा हरितगृह ग्याँस जतिजति बढ्दै जान्छ, त्यत्ति नै अनुपातमा हरितगृह प्रभाव बढ्दै गई वायुमण्डल थप तात्दै जान्छ जसलाई विश्व उष्णीकरण (ग्लोबल वार्मीङ) भनिन्छ । तातेको वायुमण्डलले हावालाई तताउँछ । हावा तातेपछि यसको बहावको गति, चाप र दिशामा असन्तुलन आउँछ जसले पानी तथा हिउँ पर्ने तरिका, प्रकृति तथा मात्रालाई प्रभावित पार्दछ । फलस्वरूप मौसम तथा जलवायुमा जटिलता र अनिश्चितता ल्याउँछ ।
बढ्दो जलवायु परिवर्तनका कारण हाल विश्वमा विभिन्न किसिमका प्रभाव तथा असरहरू देखा परिरहेका छन् । नेपाल पनि यसबाट अछुतो छैन । अझ उल्टै हरितगृह ग्याँस कम उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको मार नेपालमा अन्यत्रको भन्दा बढी नै परिरहेको छ । विश्वको औसत तापक्रम बृद्धि भन्दा नेपालमा तापक्रम बृद्धि धेरै बढी छ । नेपालमा अन्य क्षेत्र भन्दा धेरै तापक्रम बढ्नुको कारण बातावरणीय कालो बादलको मात्रा हिमाली तथा पहाडी क्षेत्रमा रहनु हो भन्ने वैज्ञानिकहरूले औंल्याएका छन् ।
 जलवायु परिवर्तनको प्रभावलाई विभिन्न क्षेत्रमा परेको देखिएको छ । यसकै कारण अतिवृष्टि तथा बाढी र पहिरोमा बृद्धि भएको छ ।जलवायु परिवर्तनको असर जलचक्रमा प्रत्यक्ष रूपले परेको छ । पानी पर्ने  गहनता, मात्रा, अन्तराल र किसिममा भएको परिवर्तनले सम्पूर्ण जल चक्रलाई प्रभावित गरेको छ । थोरै समयमा धेरै मात्रामा पानी पर्ने कारणले जमिनले
पानी सोस्ने क्रम कम हुँदा बाढी र पहिरोमा समेत बृद्धि भएको छ । नेपालमा वर्षातयामका ३–४ महिनामा वर्षभरी हुने वर्षाको ९०% भन्दा बढी पानी पर्दछ ।
त्यस्तै अनावृष्टी तथा खडेरीमा बृद्धि भएको छ । जलवायु परिवर्तनका कारण पानी पर्ने समय र अवधिमा परिवर्तन आइरहेको छ भने पानी पर्ने दिनहरूको संख्या घटिरहेका छन् । समयमा पानी तथा हिउँ नपर्ने, पानी तथा हिउँ पर्ने समयावधि कम हुँदै जाने कारणले भू–सतहको चिस्यान कम हुँदै गएको छ । निश्चित ठाउँमा कम पानी तथा हिउँ पर्ने कारणले खडेरीमा बृद्धि हुँदै गएको छ । खडेरीको प्रत्यक्ष असर पशुपालन तथा अन्न उत्पादनमा परेको छ । नेपालमा प्रतिदशक ९.८ मिलिमिटरका दरले पानी पर्ने क्रम घट्दो छ ।
अर्को तर्फ जलवायु परिवर्तनबाट नेपालमा सबैभन्दा बढी प्रभावित क्षेत्र जलस्रोत हो । हिमाली भेगमा हिउँ पर्ने क्रममा कमी हुनुका साथै हिउँ पग्लने क्रममा तीब्रता आएका कारण मुख्य हिमनदीहरूको बहावमा अनियमितता आएको छ ।
पानीको मुख्य स्रोत ‘हिउँ’ पर्न नै कम भए पछि मुख्य नदीको बहावमा कमी भईरहेको छ । यसले गर्दा पारिस्थिकीय
प्रणालीका साथै सिंचाइ, खानेपानी र जलविद्युतमा समेत नकारात्मक असर पर्न थालेको छ । पहाडी क्षेत्रमा पानीको मुहान सुक्ने तथा तराईमा पानीको सतह कम भई भूमिगत जलभण्डार पनि रित्ता हुँदै गएका छन् । तापक्रम बृद्धिले तीव्र गतिमा हिउँ पग्लने र हिमतालको आकार बढ्दै जाँदा फुटने खतरा बढ्दै गएको छ । फलस्वरूप खतरायुक्त हिमताल फुटेर आउने बाढीको जोखिम बढीरहेको छ भने बढी परिमाणमा पानी पर्ने दिनहरूको सङ्ख्यामा बृद्धि हुदै गइरहेको छ । यसका अतिरिक्त निरन्तर रूपमा खोलामा हुने पानीको बहाव र भूमिगत जलस्रोत दुबैमा कमी आउन थालेको छ । तापक्रमको बृद्धिले गर्दा शुरूमा हिउँ पग्लिएर नदीमा पानीको बहावमा बृद्धि भएता पनि केही बर्षपछि पानीको स्रोतको रूपमा रहेको हिउँको परिमाण कम हुन गई सोमा कमी आउनेछ र जलविद्युत र सिंचाइ क्षेत्र अझै प्रतिकूल रूपमा प्रभावित हुनेछन् । नेपालमा २,३२३ वटा हिमताल रहेका छन जसमध्ये महइभ्वपूर्ण मानिने हिमनदी
र हिमाली क्षेत्रहरूबाट हिउँ हराउँदै गएको छ । त्यस्तै खतरापूर्ण हिमतालहरूको विकास हँुदै गएको छ । साथै नयाँ हिमताल निर्माण हुने तथा भइरहेका हिमतालहरूको क्षेत्रफल तथा पानीको आयतन बढ्दै गएको देख्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण जैविक विविधतामा ह्रास आइरहेको छ । विभिन्न प्रजातिका प्राणी तथा वनस्पतिहरूले आफूलाई परिवर्तित जलवायुमा अनुकूलित गर्न नसक्दा लोप हुने सम्भावना बढेको छ । वायुमण्डलको तापक्रम बढ्दै गएकाले गर्मी क्षेत्रमा पाइने प्राणी तथा वनस्पतिहरू उच्च तथा जाडो क्षेत्रमा पाइन थालेका छन् भने उच्च क्षेत्रमा हुने प्राणी तथा वनस्पतिहरू लोप हुने खतरा बढ्दै गएको छ । यसबाट सजिलै स्थानान्तरण नहुने प्रजातिहरू, माटोभित्र बस्ने जीवहरू, नउड्ने किरा र गह्रौ वा ठूला फल लाग्ने वनस्पतिहरू बढी जोखिममा पर्ने देखिन्छ ।
कृषि उत्पादनमा कमी उत्तिकै कमी आइरहेको छ ।
आकाशे पानीमा भरपर्नु पर्ने हाम्रो जस्तो कृषि प्रणालीमा वर्षामा आउने उतार चढावको कारण उत्पादन घटिरहेको छ । हिमाली क्षेत्रमा समयमै हिउँ नपर्नाले माटोको चिस्यानमा प्रभाव परी घाँस तथा अन्न उत्पादनमा नकारात्मक प्रभाव परेको छ जसले गर्दा खेतीपाती तथा पशुपालनमा कमी आएको छ । तराई तथा पहाडी क्षेत्रमा भू–क्षय र ब ाढी पहिरोको कारण माटोको उर्बराशक्तिमा समेत कमी आएको छ । मौसम र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बाली चक्रको  सन्तुलन खलबलिएको छ । परम्परागत बालीका प्रजातिहरू लोप हुने, नयाँनयाँ रोग किराहरू बृद्धि भई बालीनाली नष्ट गर्ने, मिचाहा प्रजातिको बाहुल्यता बढ्ने आदि समस्याले कृषि उत्पादन कम हुँदै गएको छ ।
प्रभाव रोक्न भएका र भइरहेका प्रयासहरु
जलवायु परिवर्तनको प्रभाव रोक्न हाम्रो मुलुकमा विभिन्न कदम चालिएको छ ।त्यसमा न्यूनीकरण र अनुकूलका कार्यक्रमहरु पर्दछन् । स्वच्छ तथा नवीकरणीय उर्जा विकासका क्षेत्रमा काम हुँदैछ । उद्योग कलाकारखानाहरुमा उर्जा सञ्चित गर्ने उपकरणहरु (जस्तै– मोटर, पम्पबोइलर र तापीय यन्त्रहरु) जडान गर्ने कार्य बढ्दो छ । उत्पादन र प्रशोधनमा पनि उर्जा खपत घटाउने उपायहरु अवलम्बन गरिँदैछ । इटाभट्टाको धुवाँ, धुलो नियन्त्रण र उर्जा खपत घटाउने प्रविधिलाई केही क्षेत्रबाट प्रयासमा ल्याउन थालिएको छ । फोहोरमैला संकलन गरी फोहोर फाल्ने स्थानलाई माटोले पुर्ने प्रविधि अवलम्बन गरिएको छ । यातायात क्षेत्रमा तीन पाङ्ग्रे डिजेल टेम्पोलाई काठमाडौं, पोखरा र लुम्बिनी क्षेत्रमा प्रतिबन्ध लगाइएको छ ।
विद्युतीय तीनपाङ्ग्रे टेम्पो र एलपी ग्यासले चल्ने सवारी साधनलाई प्रोत्साहन दिएर सार्वजनिक यातायातको आवश्यकता पूरा गर्ने प्रयास भएको छ । सार्वजनिक सवारी मापदण्ड २०५७ले तोकेको मापदण्ड पूरा गरेका सवारी साधनलाई मात्र अनुमति प्रदान गर्ने नीति कार्यान्वयन गरिएको छ । कम परिमाणमा भए पनि जैविक इन्धन उत्पादनको प्रक्रिया शुरु भएको छ । खाना पकाउन सुधारिएको चुलोलाई व्यापक प्रयोगमा ल्याइएको छ । विगत केही बर्षयता समुदाय स्तरमा बायोब्रिकेटको उत्पादन र प्रयोग निकै तीब्र गतिमा बढीरहेको छ । खाना पकाउन उपयोगी बायोग्यास व्यापक रुपमा प्रयोगमा ल्याइएको छ । वनलाई सामुदायिक, कबुलियती, साझेदारी, सरकारी, धार्मिक आदिमा बर्गीकरण गरी व्यवस्थापन गरिएको छ । एकीकृत बाली व्यवस्थापन, कृषिवन जस्ता कार्यक्रमहरु संचालन गरिएका छन् । बर्षाको पानी जम्मा गर्न पोखरी, टयांकी आदि निर्माण गरी प्रयोगमा ल्याउन शुरु गरिएको छ । तीब्र गतिमा हिउँ पग्लेर हिमतालहरुको पानी धेरै भई हिमताल फुट्ने खतरा न्यूनीकरणतर्फ पनि केही प्रयास भएका छन् । यस मध्ये च्छोरोल्पा हिमतालको संरक्षणलाई प्रमुख रुपमा लिन सकिन्छ । जलवायु परिवर्तनसम्बन्धी पाठ्यक्रमहरु निर्माण गरी विद्यालय र विश्वविद्यालयले अध्ययन–अध्यापन गराएका छन् । सभा, गोष्ठी र अन्तरक्रिया कार्यक्रमको माध्यमबाट जलवायु परिवर्तनसम्बन्धी जानकारी, सूचना, आदानप्रदान गर्ने कार्यहरु हालैका बर्षहरुमा बढिरहेका छन् । संचार माध्यमहरुबाट प्रचारप्रसार गरी केही हदसम्म चेतना अभिबृद्धि गर्ने कार्य भइरहेको छ । नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति (ल्बतष्यलब िअष्mिबतभ अजबलनभ उयष्अिथ) तयारीको क्रममा छ ।
अबको  हाम्रो दायित्व
मानवीय क्रियाकलापले जसरी वातावरणीय जोखिम बढेको छ,यो जोखिम कम गर्ने दायित्व पनि उसैको हो र यो कार्य ऊ बाट मात्र सम्भव छ ।  जलवायु परिवर्तनका समस्यासँग जुध्न नेपालले यस सम्बन्धी अन्तर्राष्ट्रिय रुपमा उपलब्ध अवसरहरु उपयोग गर्नु पहिलो दायित्व हुन आउछ ।बढीमात्रामा  हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकबाट हाम्रो देशको  वातावरणीय जोखिम  बढेबाट यो उक्त काम पहिलो  प्राथमिकतामा राखिनु पर्छ । स्थानीय रुपमा पनि कार्बन उत्सर्जन घटाउने र यसबाट हुने जोखिम न्यूनीकरणमा महत्वपूर्ण पाइला चाल्न ढिलो गर्नु हुँदैन । सरकारी, गैरसकारी तथा निजी क्षेत्रसमेतको बृहत्तर साझेदारीमार्फत जलवायु परिवर्तनका सबै जटिलताहरु प्रस्ट हुने गरी अध्ययन तथा अनुसन्धान गर्नुका साथै जनसमुदाय ्स्तरमा समेत बहस चलाएर यसका असर न्यूनीकरण गर्ने तथा उपलब्ध अवसरहरु गुम्न नदिने रणनीति अवलम्बन गर्नु जरुरी छ ।
 वन व्यवस्थापन तथा कार्बन व्यापार वातावरणीय जोखिम कम गर्ने एउटा राम्रो अवसर र संभावना हो । वनले तापक्रम नियन्त्रण गर्ने र जमिनमा हुने कार्बनको करिब ६०प्रतिशत भाग रुखविरुवामा हुने भएकाले कार्बन सञ्चितीकरणका लागि वन व्यवस्थापन र बृक्षरोपण प्रभावकारी हुन्छ । वन विनाशको हालको गति मात्र रोक्न सकेको खण्डमा पनि वन क्षेत्रबाट हुने कार्बन उत्सर्जन धेरै हदसम्म कम गर्न सकिन्छ । यसका लागि सहभागितामूलक वन व्यवस्थापन पद्धतिलाई बढावा दिनु बुद्धिमानी ठहर्छ । बनमा सञ्चित कार्बनको अन्तर्राष्ट्रिय बजार भएको तथा नेपाल कार्बन व्यापारका लागि योग्य समेत रहेकाले यो कार्य अघि बढाउनु पर्छ ।
वातावरणीय जोखिम कम गर्न  नवीकरणीय उर्जा विकास तथा प्रबद्र्धनमा जोड दिनु पर्छ । नवीकरणीय उर्जा विशेष गरी गोबरग्याँस र उन्नत चुलोको व्यापक विस्तार, प्रबद्र्धन गरी खनिज तेलको उपयोग घटाउन सके वातावरणीय जोखिम क मगर्न सकिन्छ । यसका लागि स्थानीय परम्परागत प्रविधिहरु पहिचान गरी उपयुक्त प्रविधिको प्रबद्र्धन गर्दै उर्जा प्रयोग मितव्ययी बनाउनु पर्छ ।
यहा जलवायु परिवर्तनका जोखिम तथा अनिश्चितता कम गर्न त्यसका बारेमा पूर्व जानकारी उपलब्ध गराउने र त्यसको प्रभावबाट बच्ने उपाय अवलम्बन गर्ने कार्य गर्नुपर्छ । यसका लागि सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउनु, आकस्मिक उद्धार सामग्रीको व्यवस्थागर्नु, प्राकृतिक प्रकोपको पूर्वसूचना प्रणाली विकास गर्नुका साथै खेती, उर्जा उत्पादन तथा वन व्यवस्थापनमा उपयुक्त प्रविधिहरुसमेत अवलम्बन गर्नुपर्छ । जनचेतना विस्तार तथा गरिबी न्यूनीकरणबाट पनि अनुकूलन हुनसक्ने क्षमता बढ्ने भएकाले यसतर्क पनि ठोस कार्य गर्नु जरुरी छ।
जलवायु परिवर्तनको जोखिमबाट सुरक्षित हुन संवैधानिक, नीतिगत तथा संस्थागत व्यवस्था महत्वपूर्ण पक्ष हो । नेपालीजनताको यस्तो अधिकारलाई मौलिक हकका रुपमा स्थापित गर्न संवैधानिक व्यवस्था गर्नु आजको आवश्यकता हो ।  नेपालमा जलवायु परिवर्तनसम्बन्धी उपयुक्त नीति, कानून तथा नियमहरु र तिनलाई व्यवहारमा लागू गर्न संस्थागत संरचनासमेत विकसित गरिनुपर्छ । विभिन्न समुदाय तथा संस्थाहरुले सुरु गरेका सिर्जनशील कामहरुको पहिचान गरी तिनको उचित प्रबद्र्धन र विस्तार गरी मूलधारमा ल्याउने नीति तथा संस्थागत व्यवस्था गर्नुपर्छ ।   जलवायु परिवर्तनबाट जनजीवन तथा प्राकृतिक प्रणालीमा पर्ने असरका साथै प्रभाव न्यूनीकरण तथा अनुकूल नीति तथा कार्ययोजना बनाउन सहयोग पुग्ने गरी वैज्ञानिक अनुसन्धान गर्नुपर्छ । विज्ञ, नीतिनिर्माता तथा पेशागत संघ–संस्था एवम् व्यक्ति मात्र नभएर सर्वसाधराणलाई पनि त्यस्ता अनुसन्धानमा सहभागी गराउनुपर्छ । अनुसन्धानका आधारमा उद्योगहरुमा समेत कार्बन उत्सर्जनका मापदण्डहरु बनाई लागू गर्नुपर्छ ।
जलवायु परिवर्तन सम्बन्धमा क्योटो प्रोटोकल अन्तर्गत तथा अन्य बजारमूलक अवसरहरु सिर्जित भएका छन् भने थुप्रै प्रक्रियाहरु जारी रहेका छन् । नेपालले पनि ती प्रक्रियामा सहभागी भई नयाँ अवसरहरु खोजी गर्ने र बार्ताका क्रममा आफ्नो हित रक्षा गर्ने गरी वकालत गर्नुपर्छ । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय तथा विश्वबजारको दायित्व सिर्जना गरी उपलब्ध हुने आर्थिक स्रोतबाट नेपालका गरीब समुदायमा अनुकूल तथा दिगो विकासका थुप्रै काम गर्न सकिन्छ । यस क्रममा सामुदायिक वनको कार्बन व्यापार प्रक्रियाका लागि सहज हुने अन्तर्राष्ट्रिय व्यवस्था वा व्यापारका सर्तहरु बनाउनका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रियता देखाउनुसमेत आवश्यक छ । राष्ट्रिय तथा स्थानीय स्तरमा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा अनुकूलका कार्यहरु बृहत् र व्यापक पार्नका लागि नेपालका क्षेत्रगत योजनाहरु(जस्तैः वन, जलस्रोत, यातायात, कृषि, उद्योगसम्बन्धी योजना वा गुरु योजना) मा यसबारे प्रावधानहरु तत्कालै राख्नुपर्ने देखिन्छ । साथै ती योजनाहरु कार्यान्वयनमा पनि विभिन्न सरोकारवालाहरुको समन्वय र सहकार्य जुटाउनु उत्तिकै आवश्यक छ ।
यस सन्दर्भमा सरोकारवालाहरुको भूमिका स्पष्ट हुन जरुरी छ । जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि पनि विभिन्न स्तरमा रहेका सरोकारवालाहरुले प्रयास गर्नुपर्छ । आ–आफ्नै विशिष्ट सवल पक्ष तथा क्षमता भएका राष्ट्रिय तथा स्थानीय सरकार, गैरसरकारी तथा निजी क्षेत्रबीचको सम्बन्ध, समन्वय र सहकार्यलाई व्यवस्थित गर्न उनीहरुका भूमिकाहरु स्पष्ट पार्नुका साथै तिनको क्षमता अभिबृद्धि गर्नु अपरिहार्य छ ।
हाम्रै कारण विग्रदो वातावरण सुधार्ने अहम् जिम्वेवारीमा पनि हामी नै रहेकाले अब हाम्रा हरेक कार्य वातावरण मैत्री हुन जरुरी छ । हामीले आफ्ना कार्य व्यवहारमा सामान्य सुधार ल्याउदा या सचेतता अपनाउदा मात्र पनि वातावरणीय जोखिम कम गर्न महत्वपूर्ण उपलब्धि हुन सक्छ । तसर्थ हामी र हाम्रा सन्ततीको सुरक्षित भविष्यकालागि वातावरण संरक्षणको अभियान आफैबाट,आजैबाट अनि अहिलेबाटै थाल्ने कि !

प्रतिक्रिया दिनुहोस्