Logo

महाविपत्ति र परजीवी प्रवृत्ति



सन्तोष शर्मा

मुलुक यति बेला ठुलो विपत्तिमा छ । वैशाख १२ गते गएको महाभूकम्पले हजारौँको ज्यान लियो, कैयौँ घरबारविहीन भए, कति अनाथ भए, अरू के के भए भए । विश्वकै सम्पत्तिका रूपमा रहेको धरोहर धरहरालगायत भौतिक वस्तु भत्किएर खण्डहर भए । फेरि पनि भूकम्पन जाने व्रmम रोकिएको छैन । मानिस डर, त्रासमा बाँचिरहेका छन् । आफू भयभित हुँदाहुँदै पनि डरलाई हराउँदै उद्धार, राहत लगायतका काममा लाग्नेहरू पनि कम छैनन् । उनीहरूलाई सलाम गर्नैपर्छ । ज्यानको माया मारेर अरूको ज्यान बचाउन लागिपरेकाहरूको जति प्रशंसा गरे पनि त्यो कम नै हुन्छ ।
देश शोकमा डुबेको छ, सबै नेपाली शोकमा छन् । कसैले पनि एक गाँस खुसीका साथ खाएका छैनन् । सबैको चिन्ताको विषय पनि महाविपत्तिको सामना कसरी गर्ने र यसमाथि कसरी विजय हासिल गर्ने भन्नेमा छ । जसले जे सकेको छ, त्यो दिएका छन्÷ गरेका छन् । धन हुनेले धन र तन हुनेले तन  । भोकै प्यासै उद्धारमा खटेका छन् ।
महाविपत्तिका बेला छिमेकी मुलुकको सहयोग, साथ र माया पनि बरकरार रहेको छ । विभिन्न मुलुकबाट राहत सामग्री, राहत रकम, उद्धार टोली आएका आयै छन् । यो एउटा छिमेकी दुःखमा परेका बेला असल छिमेकीले गर्नुपर्ने दायित्व पनि हो । त्यसैअनुरूप सबैबाट प्राप्त सहयोग सराहनीय पनि छ ।
सुन्दर, शान्त र विशाल भनेर चिनिएको हाम्रो मुलुक राजनीतिक सङ्व्रmमणकालको अवस्थामा रहेका बेला आएको महाविपत्तिले मुलुकलाई अझ थलथिलो बनाएको छ । यस्तो अवस्थामा पनि सबै नेपाली एक भएर विपत्तिको सामना गर्नु कुनै चानचुने कुरा होइन । लिम्बूवान, खम्बूवान, नेवा, कोच, नानाथरि जे भने पनि विपत्तिका बेला हामी सबै नेपाली हौँ भन्ने कुराको प्रमाण अब कुनै पनि कालखण्डमा दिइरहनु पर्नेछैन । यसमाथि हामीले विजय हासिल गरिसकेका छौँ । मेचीलाई दुख्दा महाकाली रुन्छ भने महाकालीलाई दुख्दा मेची । हामी नेपाली भावनाले चल्ने भएकाले पनि होला बेपरवाह आफ्नो बिरानो नभनी ज्यान फालेर एकअर्काका लागि लागिपर्छौँ ।
राम्रा नराम्रा मानिस जहाँ पनि हुन्छन् । अरू समस्यामा, दुःखमा परेका बेला मौकाको फाइदा उठाउन चाहनेहरू हाम्रै समाजमा छन् । गाईको आवरणमा लुकेका ब्वाँसाहरू मौकाको प्रतीक्षामा हुन्छन्, मौका मिल्यो कि… ।
विभिन्न सञ्चार माध्यममा उद्धार, राहत, सहयोगको कुरासँगै नराम्रा कुरा पनि सुन्न पाइएको छ । विपत्तिमा परेकाका लागि आएको राहतमाथि राल काडेको समाचार सुन्दा अचम्म लागिरहेको छ । राहत रकम अपचलन गरेको सुन्दा आश्चर्य लागिरहेको छ । राहतस्वरुप छिमेकी मुलुकबाट आएका सामग्री व्यक्तिका गोदाममा लुकाएर राखेको अवस्थामा फेला पर्नु आफैँमा आश्चर्य छ । विपत्मा परेकालाई सक्दो सहयोग गर्नुपर्नेमा अरूले गरेको सहयोगसमेत लुकाउने ‘परजीवी’हरूलाई जे भने पनि कम नै हुन्छ ।
राहत भन्नेबित्तिकै विपत्मा परेकालाई न्यूनतम आवश्यकता परिपूर्तिका लागि दिइने वस्तु हो । जसमा खाद्यान्न, लत्ता कपडालगायतका वस्तु पर्छन् । यस्ता अत्यावश्यक वस्तु सक्दो सहयोग गर्नुपर्छ । र, विश्व नै सहयोगमा जुटेको छ । यस्तो अवस्थामा परजीवी प्रवृत्ति त्यागेर सहयोगमा जुट्नैपर्छ । मानवीय गुण देखाउने समय पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्