Logo

कर्मकाण्डी र नौटङ्गी नबनोस सुझाव



तारामणि सापकोटा ।
जनताले भनेको, बोलेको, लेखेर दिएको सुझाव संविधानमा लिपिबद्ध हुन्छ हुँदैन थाहा छैन । तर, प्रमुख दलको एउटा कर्मकाण्ड सोमवार र मंगलवार पुरा भएको छ । जनताबाट संविधान निर्माणका लागि सुझाव तथा राय संकलन कार्य सकिएको छ । देशका अधिकांश स्थानमा बिरोध प्रदर्शन, तोडफोड, आगजनी भए । जनकपुर, बिरगञ्ज, गौर लगायतका स्थानमा गोली चल्यो । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल जोगाउन प्रहरीलाई सास्ती भयो । एमाओवादी अध्यक्ष प्रचण्डलाई स्टेजमा हानिएको ढुङ्गाबाट जोगाउन प्रहरीलाई हम्मे हम्मे पर्यो । अर्थमन्त्री रामशरण महतको गाडीमा प्रट्रोल बम प्रहार भयो । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले चेनगेटमा ताला लगाएर सिमित कार्यकर्तासँग सुझाव संकलन गर्नु पर्यो ।
तोडफोड, ढुङ्गा हानाहान, गोली र अश्रुग्याँस प्रहार, प्रहरीको लाठ्ठी चार्जका बिच जनताका नाममा सुझाव संकलन भएको छ । बाहिर उत्पात भित्र बन्द कोठमा सुझाव संकलन । कयौ स्थानमा सुझाव दिने भन्दा सुरक्षाकर्मीको संख्या धेरै । प्रमुख दलका आमन्त्रण गरिएका कार्यकर्ता राखेर सुझाव संकलन । बिरोधी दलका कार्यकर्तालाई हलमा प्रवेशमा रोक । ढोका थुनेर प्रहरीको घेरामा जनताका नाममा हुने सुझाव संकलनको कर्म हेर्दा नौटंगी भन्दा केही होइन ।
सुगम र राजमार्ग केन्द्रित सुझाव संकलनमा आएको सुझाव जनताले संविधानमा समेटिएलान भन्ने पटक्कै बिश्वास लिएका छैनन् । ठूला पार्टीका कार्यकर्तामा पनि भरोसा छैन । यद्धपी, भइहाल्छ की भनेर सुझाव दिएका छन् । मेरो सुझाव लागू हुन्छ भन्ने कार्यकर्ता र जनतामा बिश्वास जगाउन नसकी गरिएको जनमत संकलन भरपर्दो हुन सक्तैन । साँचो अर्थमा जनमत संकलन गरिएको हो भने कम्तिमा गाबिस र वडा स्तरमा समूहगत छलफल हुनु पर्दथ्यो ।
हुन त जनमत संकलनको गञ्जागोलबाट कोही उत्साहित भएको छ भने त्यो राप्रपा नेपाल हो । उनले ढोका बाहिर बिरोध गरेपनि उसको हिन्दू राज्यको एजेण्डा कांग्रेस, एमाले लगायतका चारदलका कार्यकर्ताले चर्को गरी उठाए । देशभरको संकलित तथ्याङ्कले अव नेपाललाई हिन्दू राज्य नबनाई सुखै छैन । हुन त प्रमुख चार दलका नेता ‘के निहूँ पाउँ कनिका भूकाउँ’ भन्ने ताकमा थिए ।
अन्तरिम संविधानमा नभएको हिन्दू राज्य कसरी कायम गर्ने दाउमा थिए । त्यसमा आफ्ना कार्यकर्तालाई समेत बोल्न लगाएर धर्मनिरपेक्षताको ठाउँ अव हिन्दू राज्यले लिन भएको छ । नेपाल हिन्दू साज्य हुनु नहुनु ठूलो कुरा होइन । तर, कसैको इशारा वा दवावमा हुने निर्णय घातक हुन्छ  । हिजो पश्चिमाको दवावमा नेपाल धर्मनिरपेक्ष भएको थियो भने अब भारतको दवावमा हिन्दू राज्य बन्ने हो ।  भारतको नेपाललाई हिन्दू राज्य कायम गर्ने योजनाले काम गरेको हो । भारतले भनेर गरेको भन्नु भन्दा बहुसंख्यक जनताले मागे अनि हिन्दू राज्य बनाएको भन्न नेतालाई सजिलो हुने भो ।
दंगा फसाद भएका ठाउँ हुन्  वा शान्तिपूर्ण स्थानबाट जे जस्तो सुझाव आएको छ, त्यसमा प्रदेशको सिमाङ्कन र नामाङ्कन गरेर मात्र संविधान जारी गर्नु पर्ने सुझाव आएको छ । यदि यो सुझाव कार्यान्वयन गर्ने हो भने एमालेको सत्ता अवतरणको क्यालेण्डर बिग्रन्छ । कांग्रेस १६ बुँदेको यो क्यालेण्डर तोडर सत्तामा लिसिन चाहन्छ । तर, एमाले क्यालेण्डर बिथोल्ने पक्षमा छैन । यसर्थ, यो सुझाव कार्यान्वयन हुने आशा कम मात्र गर्न सकिन्छ । सत्ताको सिराने लगाएर संविधानको मार्गचित्र कोर्ने प्रयास आफैमा घातक हुन्छ । नागरिकसँग साँचो अर्थमा सुझाव लिन चाएको हो भने एक महिना जनतामा सुला छलफल गर्न दिनु पर्छ । त्यसबाट आएको सुझावका आधारमा परिमार्जन गर्नु पर्छ ।
सुझावको रुपमा सरकार प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनु पर्दछ । पञ्चायती व्यवस्थामा वडा अध्यक्ष जनताले प्रत्यक्ष निर्वाचित गर्दथे । तर, प्रस्तावित संविधानमा अप्रत्यक्ष निर्वाचित हुने प्रावधान राखिएको छ । लोकतान्त्रिक पद्धती ध्वस्त पारेर कम लोकतान्त्रिक बिधी अपनाउनु लोकतान्त्रिक नेताको चरित्र होइन । जनताले वडा देखि केन्द्रीय सरकारको प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति जनताले प्रत्यक्ष निर्वाचित गर्न पाउनु पर्ने सुझाव दिएका छन् । देशभरबाट एकछत्र रुपमा आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री बनाउने सुझाव कांग्रेस एमालेले स्वीकार गर्न तयार होलान । के यि सुझाव कार्यान्वयन होला । यस्ता अनेक प्रश्न समाधान भएन भने सुझाव संकलन नौटंगीमा रुपान्तरण हुने निश्चित हन्छ । अन्यथा सुझाव संकलन कार्यान्वयन भए जनताले संविधानमा थोरै भएपनि अपनत्व महसुुस गर्नेथिए ।  
सुझावमा सभासद्, मन्त्री हुनेको शैक्षिक योग्यता तोकिनु पर्ने देशभर कुरा उठेको छ । गाडी ड्राइभरलले पढ्नु पर्ने तर नेता हुन पढ्नु नपर्ने बिधी फेर्न सुझाव दिएका छन् । थोरै प्रदेश निर्माण गर्नु पर्ने, बलात्कारी र देशद्रोहीलाई मृत्युदण्ड दिनु पर्ने माग गरिएको छ ।
१६ बुँदे सम्झौता गर्ने चार राजनीतिक दलसँग जनताका सुझाव र असन्तुस्ट दलका मागलाई सम्बोधन गर्नुपर्ने प्रमुख चुनौती बेनेको छ । कमल थापाको हिन्दू राज्यको मुद्धा सम्बोधन नगर्दा हिन्दूत्वको नाराले कांग्रेस एमालेको राजनीति धरापमा पर्न सक्छ । कांग्रेसमा त हिन्दू राज्य बनाउन कार्यकर्ताको चर्को दवाव छ । एमालेमा पनि त्यो थोर बहुत दवाव छ । एमाओवादीलाई हिन्दू जनमतको समर्थन नपाइने हो की भन्ने चिन्ता छ । मधेसी दलको सिमाङ्कन र नामाङ्कनका सम्बोधन नगरेसम्म संविधान निर्माण दिगो हुन सक्तैन । सविधान निर्माण गर्नु ठूलो कुरा होइन तर त्यो कति टिकाउ हुन्छ भन्ने महत्वपूर्ण कुरा हो । दलका नेताले सबै बिवादलाई निम्टारा गर्न सके मात्र शान्ति प्रक्रिया पूर्ण हुन्छ । अन्यथा नयाँ खाले द्वन्द्वको बिजारोण हुन सक्छ । यसमा दलका नेताको सतबुद्धि फिर्नु पर्छ । हतार नगरी सुझाव र द्वन्द्वलाई निम्टारा गर्न सक्नु पर्दछ ।
 

प्रतिक्रिया दिनुहोस्