Logo

चिसो बढेपछि विद्यालय बिदा



महोत्तरी, २४ पुस । चिसो अत्यधिक बढेपछि यहाँका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका आजदेखि विद्यालयमा बिदा दिएका हुन् ।

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए ।

रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताए ।

साथै गौशालामा सोमवार सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले आजदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक साताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतबारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ ।

प्रतिक्रिया दिनुहोस्