Logo

सांसद नेम्वाङको स्वास्थ्यमा सुधार



काठमाडौँ, १८ माघ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङका सहयोगी सन्दीप राईका अनुसार चिकित्सकले स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएका छन् । ‘आइसियुमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै राईले भने ।

बुधबार बिहान ताप्लेजुङमा अचानक स्वास्थ्यमा समस्या भएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् राजधानी ल्याइएको हो । अहिले उनको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल उपचार भइराखेको छ ।

चिकित्सकले उनलाई स्ट्रोक भएको बताएका छन् । ‘‘चिकित्सकले प्रेसरले हानेको भन्नुभएको छ । उहाँको टाउकोको दाहिने तर्फको फुटेको नशाको अप्रेसन सफल भएको छ । अप्रेसन सफल भएपछि स्वास्थ्यमा सुधार भइरहेको छ’’, चिकित्सकलाई उद्धृत गर्दै राईले भने ।

एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका नेम्वाङ कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेको समयमा स्वास्थ्यमा समस्या देखिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बुधबार साँझ काठमाडौँ ल्याइएको हो । नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्