Logo

संविधानमा नि:शुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराउँछ: स्वास्थ्यमन्त्री



ललितपुर, २५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा नि:शुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था रोक्नुपर्ने बताएका छन् ।

मन्त्री बस्नेतले संविधानले नि:शुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको जानकारी पनि दिएका हुन् ।

मानसिक स्वास्थ्य अस्पताल लगनखेलको किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ उद्घाटन समारोहमा मन्त्री बस्नेतले हरेक एक सय जनामा १० मानसिक रोगी भेटिने गरेको तथ्य पाइएको पनि उल्लेख गरेका हुन् ।

“बालबालिका र किशोरकिशोरीका लागि एकीकृतरूपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेकामा हार्दिक आभार दिन चाहन्छु । सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाबाट भएको छ । मानसिक रोगी बढ्नुका कारण पत्ता लगाएर त्यसलाई रोक्न ध्यान दिनुपर्छ”, मन्त्री बस्नेतले भने ।

समस्यामा परेका व्यक्तिले समयमा उपचार पाउने सुनिश्चितता छैन भन्ने साचेर पनि मानसिक रोग बढेको भन्ने पाइएकाले यसका लागि राज्य, सङ्घसंस्था र नागरिक सबै मिलेर समाधानको प्रयास सुरु गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्