Logo

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन



झापा, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ ।

अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गरेका छन् । वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताए ।

दृष्टि पब्लिक प्राइभेट पार्टनरसीपअनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रु १६ करोडको लागतमा मेसिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिए । सन् २०२३ मा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ९७ हजार आठ सय ७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको उनले बताए ।

शल्यक्रिया सेवातर्फ अस्पलताबाट ३४ हजार पाँच सय ४५ जना तथा बाह्य कार्यक्रमअन्तर्गत एक हजार आठ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अधिकांशको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । रेटिनाको शल्यक्रिया गराउने सात हजार चार सय दुई, कोर्नियाको शल्यक्रिया गराउने दुई हजार आठ सय पाँच, अकुलोप्लास्टिको शल्यक्रिया गराउने तीन हजार पाँच सय ६७ तथा अन्य शल्यक्रिया गराउने ६ सय २७ जना रहेका छन् ।

अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५१ हजार नौ सय १५ बिमितहरूको आँखा परीक्षण गरेको छ भने पाँच हजार छ सय ६१ बिमितको आँखाको शल्यक्रिया गरिएको अस्पतालका स्वास्थ्य निर्देशक पुरुषोत्तम जोशीले जानकारी दिए ।

वार्षिकोत्सव समारोहमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, प्रदेशभा सदस्य एकराज कार्की, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्