Logo

डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ



काठमाडौँ, २९ माघ । डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका-९ घर भई हाल काठमाडौँ टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ-५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ रु नौ लाख लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ ।

डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे-४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्