Logo
  बैशाख ५, २०८१ बुधबार

पत्रकार महासंघको संस्थापक विवाद !



नेपाल पत्रकार महासंघको संस्थापकको सन्दर्भ पुनः बहसको विषय बनेको छ । महासंघ प्रतिष्ठान प्रदेश समितिले माघ २८ गते आयोजना गरेको‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासंघको’ पुस्तक विमोचन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले अवरोध सिर्जना गर्यो ।पत्रकार महासंघको संस्थापक समिति २००८ सालको सत्यनारायणबहादुर श्रेष्ठ नेतृत्व वा २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको नेपाल पत्रकार संघलाई भन्ने विषय पुनः बहसमा आएको छ ।

नेपाल पत्रकार महासंघलेभने २०१२ सालमा भट्टराईको सभापतित्वमा गठन भएको संघको अविच्छिन्न उत्तराधिकारी संस्थाको रुपमा स्वीकार गरेको छ । धरानमा २०५३ साल जेठ २८ र २९ गते भएको साधारणसभाले विधान संशोधन गरेर संघलाईमहासंघमा रूपान्तरण गरेको थियो । महासंघले भट्टराईलाई संस्थापक सभापति मान्न थालेपछि प्रश्न उठ्न थालेको हो । महासंघको रुपान्तरणसँगै भट्टराई संस्थापक घोषित भएका हुन् । तर, २०५६ सालमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) गठनपछि संस्थापकका विषयमा प्रश्न उठ्न थालेको हो । तत्कालीन अनिज (हालको फोनिज)ले संस्थापकको मात्र होइन, महासंघको आदिवासी जनजाति अग्रज पत्रकारलाई हेर्ने दृष्टिकोणमा निरन्तर प्रश्न उठाउँदै आएको छ । महासंघले इतिहासको गलत व्याख्या गरेको र आदिवासी जनजाति पृष्ठभूमिका पात्रको उचित मूल्याङ्कन नगरेको फोनिजको आरोप छ ।

२००८ साल जेठमा गठन भएको नेपाल पत्रकार संघमा सभापति सत्यनारायण बहादुर श्रेष्ठ र भोजबहादुर सिंह न्यौपाने सचिव थिए । संघको दोस्रो सभा २००८ साल वैशाख २८ गते आर्य समाजको मन्दिर भोटाहिटीमा भएको थियो । त्यस सभाले पदीय जिम्मेवारी बाँडफाँड गर्दै कार्यकारिणी समिति गठन गरेको थियो । सभाले संघको उद्देश्य पनि किटान गरेको थियो । उद्देश्यमा ‘नेपालका पत्रकार तथा नेपाल बाहिरका नेपाली पत्रकारको संगठन गरी तिनीहरुको आवश्यक सुविधाका लागि प्रयत्नशील रहनु र नेपाल बाहिरका पत्रकारसँग सम्बन्ध स्थापित गरी नेपालका श्रमजीवी पत्रकार र समाचारपत्रहरुको अधिकारको रक्षा गर्नु’ भन्ने उल्लेख थियो ।

संघको २००९ साल पुस २७ गते बसेको बैठकले सरकारले २००९ वैशाख १ गते जारी गरेको ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २००९’मा भएका केही प्रावधानका विषयमा २००९ पुस २ गते बुँदागत असहमतिसहितको ज्ञापन गृहमन्त्रालयमा बुझाएको थियो । संघले २००९ साउन २३ गते पत्रपत्रिका सम्बन्धी विभिन्न माग राखी गृहमन्त्रालयमा मागपत्र पेस गरेको थियो । सत्यनारायण बहादुर श्रेष्ठ नेतृत्वको संघ निष्क्रिय भएपछि २०१२ साल चैत १६ गते पत्रकारको भेलाले कृष्णप्रसाद उपाध्याय (भट्टराई) लाई ‘नेपाल पत्रकार संघ’ को सभापति बनाएको थियो । भट्टराई सभापति भएदेखि नै उनको नेतृत्व अस्वीकार गर्ने एउटा समूह थियो । यसरी संघमा फुट र विभाजन देखापरेको थियो । संघको २०१३ साल चैत १५ गते बसेको बैठकमा अध्यक्ष भट्टराईद्वारा मनोनित संघका सहायकमन्त्री राम सिंह नेपाली नागरिक नभएकाले निष्कासन गर्नुपर्ने प्रस्ताव भरत शमशेर जंगबहादुर राणाले पेस गरे । बैठकमा सदस्यहरु प्रस्तावको पक्ष र विपक्षमा उभिँदा विवाद बढ्दै गयो । बैठकको बहुमतले नेपाली नागरिक भएको प्रमाण पेस नगरुन्जेल राम सिंहलाई निलम्बन गर्ने निर्णय ग¥यो । त्यो निर्णयविरुद्ध अर्को समूहले आपत्ति प्रकट ग¥यो र गोपालदास श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघको नयाँ नेतृत्व गठन गरेको घोषणा ग¥यो । त्यसको दुई दिनपछि अध्यक्ष गोपालदास श्रेष्ठले २०१३ साल चैत १७ गते एक वक्तव्य प्रकाशित गरी सभापति कृष्णप्रसाद भट्टराई, उपसभापति फत्तेबहाहुर सिंह, मन्त्री मणिराज उपाध्याय र कोषाध्यक्ष उदयराज शास्त्रीलाई संघको सदस्यताबाट निष्कासन गरेको घोषणा गरे । त्यसपछि २०१३ चैत २९ गते फत्तेबहादुर सिंहको निवासमा भएको बैठकले सभापति गोपालदास श्रेष्ठलाई एक वर्षका लागि सदस्यताबाट निलम्बन गरेको निर्णय ग¥यो । संघका दुबै समूहबीच २०१८ भदौ ७ गते भएको छलफलले मेलमिलाप कायम ग¥यो र भदौ १० गते फत्तेबहादुर सिंहको सभापतित्व संघको नयाँ कार्यसमिति गठन ग¥यो । यही संघले ‘संघ–संस्था रजिस्ट्रेसन ऐन २०१९’ अनुसार २०१९ वैशाख १ गते राष्ट्रिय निर्देशन मन्त्रालयमा संघ दर्ता गरेको थियो । (देवकोटा, गृष्मबहादुर (२०७४),नेपालको पत्रपत्रिका तथा छापाखानाको इतिहास, साझा प्रकाशन,पृ. १३८–१४३)

सत्यनारायणबहादुर श्रेष्ठ

भट्टराई नेतृत्वको संघको स्थापना मिति २०१२ साल चैत १६ गतेका आधारमा महासंघले चैत १६ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका उत्पीडित जाति, वर्ग तथा समुदायका पेसागत संघसंगठनले इतिहासको गलत व्याख्या गरिएको भन्दै आलोचना र विरोध गर्दै आएका छन् । महासंघको तत्कालीन नेतृत्वले राजनीतिक प्रभावका आधारमा भट्टराईलाई संस्थापक सभापति बनाएको आरोप उनीहरुको छ । फोनिजलगायतका संघसंगठनले आदिवासी जनजातिको पहिचान मेटाउने काम भएको भन्दै सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक सभापति स्वीकार गरी निर्णय सच्याउन नेपाल पत्रकार महासंघलाई दबाब दिँदै आएका छन् ।

नेपालको पत्रकारिताको इतिहाससम्बन्धी पुस्तकहरुमा गृष्मबहादुर देवकोटाद्वारा लिखित ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ सबैभन्दा बढी आधिकारिक मानिन्छ । देवकोटाले भट्टराईप्रति राजनीतिक पूर्वाग्रह राखेर पुस्तकमा सन्दर्भ उल्लेख गरेको आरोप लगाउने गरेको सुनिन्छ तर देवकोटाले पुस्तकमा उल्लेख गरेका मिति र तथ्य गलत हुन् भन्ने प्रमाणित नहुन्जेलसम्म ती तथ्य सत्य मान्नै पर्छ । यसैगरी संघ स्थापनाका सन्दर्भमा प्रकाशित तथ्यले पनि संस्थापकको विषयमा प्रश्न उठ्को छ । भट्टराई नेपाल पत्रकार संघको संस्थापक सभापति हुन् भन्ने नेपाल पत्रकार महासंघको स्वीकारोक्तिमा उठेका केही गम्भीर प्रश्न ः

१. कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल पत्रकार संघ बन्नुअघि २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठको सभापतित्वमा बनेको संघको कार्य समितिले पटकपटक सभाको आयोजना गर्ने र आधारिकारिक निर्णय गरी ‘छापाखाना तथा प्रकाशन सम्बनधी ऐन, २००९’ मा भएका प्रेस विरोधी बुँदा सच्याउन गृहमन्त्रालयमा पत्र बुझाउने काम गरेको थियो । संघले पत्रपत्रिका र श्रमजीवी पत्रकारका पक्षमा सक्रियता देखाएको देखिन्छ । २०१२ चैत १६ गते सभापति बनेका कृष्णप्रसाद भट्टराई सभापति भएको एक वर्षमा संघबाट निष्कासित गरिए । सत्यनाराणबहादुर श्रेष्ठ र कृष्णप्रसाद भट्टराई दुवै सभापति भएको अवधि लगभग एक वर्ष देखिन्छ । तर, सक्रियता भने भट्टराईको तुलनामा श्रेष्ठको बढी देखिन्छ । अतः सक्रियतालाई आधार मान्ने हो भने पनि श्रेष्ठ नै संस्थापक मान्नुपर्ने देखिन्छ ।

२. श्रेष्ठ नेतृत्वको संघको उद्देश्य प्रस्ट उल्लिखित थियो । त्यो उद्देश्य प्राप्तिका लागि विभिन्न काम गरेको देखिन्छ । भट्टराई नेतृत्वमा हुँदा पनि उद्देश्य किटान गरिएको थियो तर उद्देश्य प्राप्तिका लागि श्रेष्ठ जति क्रियाशील थिए भट्टराई त्यति भएनन् ।

३. नेपाल पत्रकार संघ ‘संघ-संस्था रजिस्ट्रेसन ऐन २०१९’ अनुसार २०१९ साल वैशाख ३१ गते राष्ट्रिय निर्देशन मन्त्रालयमा दर्ता भएको थियो । संघ दर्ता हुँदाको अवस्थामा फत्तेबहादुर सिंह सभापति थिए । यसर्थ, कृष्णप्रसाद भट्टराई संस्था दर्ता हुँदाको समयका सभापति पनि होइनन् । श्रेष्ठको नेतृत्वमा संघ गठन भएको समयमा संघ संस्था दर्ता गर्नुपर्ने प्रावधान थिएन । संघ संस्था दर्तासम्बन्धी ऐन २०१९ सालमा मात्र आएको हो । संघ दर्ता भएको आधारलाई मान्ने हो भने फत्तेबहादुर सिंह दर्तावाल संघका संस्थापक हुन् ।

४. नेपाल पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईको सभापतित्वमा २०१२ साल चैत १६ गते स्थापना संघ नै आफ्नो जननी संस्था हो भनेर आधिकारिक निर्णय गरेको पाइँदैन । होमनाथ दाहाल महासंघको सभापति (२०४९–२०५२) रहेका भएका समयमा केन्द्रीय समितिले गरेको निर्णयका आधारमा २०१२ चैत १६ गतेलाई महासंघको स्थापना दिवस र कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति मान्ने निर्णय गरेको भन्ने गरिएको छ । तर, दाहाल सभापति भएको कार्यकाल मात्र होइन, महासंघका २०४० सालपछिका बैठक पुस्तिकाको अध्ययन गर्दा पनि भट्टराईलाई संस्थापक सभापति मान्ने निर्णय भएको महासंघमा अभिलेख पाइँदैन । भट्टराईलाई संस्थापक सभापति मान्ने र स्थापना मिति २०१२ चैत १६ लाई मान्ने घोषणा के आधारमा ग¥यो भन्ने आधिकारिक निर्णय छैन । यसले राजनीतिक प्रभाव र हचुवाको भरमा भट्टराईलाई संस्थापक सभापति मानिएको भन्ने तर्कमा बल पु¥याउँछ ।

५. नेपाली पत्रकारका लागि तत्कालीन सोभियत संघ भ्रमणको निम्ता आयो । काठमाडौँस्थित सोभियत दूतावासले संघमार्फत् आउन आग्रह गरेपछि भट्टराईको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको देखिन्छ । यसर्थ, संघको निरन्तरताभन्दा रुस भ्रमणको उद्देश्यले संघको पुनःगठन भएको देखिएको छ ।

उल्लेखित तथ्यले कृष्णप्रसाद भट्टराई संस्थापक सभापति हुन् भन्ने कुरामा गम्भीर प्रश्न उठेको छ । राजनीतिक उद्देश्य पे्ररित भए वा नभए पनि पत्रकार महासंघको स्थापना मिति र संस्थापक सभापति सम्बन्धी तथ्यमा प्रश्न उठेको हो । यथार्थभन्दा बाहिर गएर संस्थापक घोषणा गर्दा सन्त नेता भट्टराई अनावश्यक विवादमा परेका छन् ।

फोनिज लगायतका जातीय संगठनले पत्रकार महासंघले संस्थापकका विषयमा मात्र होइन, पत्रकारिताको इतिहासमा आदिवासी जनजातिको अस्तित्व अस्वीकार गरेको आरोप लगाउने गरेका छन् । ‘नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र घोषणा भयो । त्यसको भोलिपल्ट अर्थात फागुन ८ गते पहिलो दैनिक पत्रिका ‘आवाज दैनिक’ का सम्पादक युगकवि सिद्धिचरण श्रेष्ठ थिए । पहिलो अंग्रेजी दैनिक ‘द कमनर’ का सम्पादक÷प्रकाशक गोपालदास श्रेष्ठ थिए । रेडियो नेपालमा पहिलो आवाज दिने नारदमणि थुलुङ थिए । नेपालमा पत्रकारिताका पहिलो शिक्षक लालदेउसा राई हुन् । इतिहासकोे यो यथार्थलाई नेपाल पत्रकार महासंघले स्वीकार नगरेको र उनीहरुको उचित सम्मान गरेको छैन । आदिवासी जनजाति भएकै कारण उनीहरुले सम्मान पाउन सकेकाछैनन् ।’(फोनिज, स्मारिका (२०७८)अल मिडिया सोलुसलन प्रालि, बागबजार, काठमाडौँ, पृष्ठ ः १००)

कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई नेपालका पूर्वप्रधानमन्त्री हुन् । उनी २०१५ सालको पहिलो संसद्को सभामुख थिए । २०४६ सालको जनआन्दोलनपछि दुई पटक प्रधानमन्त्री भए । उनी नेपाली काँग्रेसको सभापति पनि भए । सन्त नेता भट्टराई मृत्यु पर्यन्त विवादमा परेका छन् । दिवंगत पूर्वप्रधानमन्त्री भट्टराईकाविषयमा लोमो समयदेखि उठेको प्रश्नमा पत्रकार महासंघ मौन हुने कुरा अनौठो छ । सत्य र यथार्थ केहो ? यसको खोजविनमा महासंघ लाग्नु पर्ने हो । मौनताले महासंघलाई झन् बढी क्षति पु¥याउँछ ।

संस्थापकको नाम विवादमा पर्दा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउन सकेको छैन । प्रतिष्ठानको प्रस्तावित नाममा कृष्णप्रसाद भट्टराईको नाम जोडिएपछि विवाद भएको थियो । नामको विवादले हालसम्म प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने सकेको छैन । र, प्रतिष्ठान सञ्चालन कार्यविधि नबन्न आर्थिक वर्ष २०७८/०७९ मा सरकारले छुट्याएको बजेट फ्रिज भएको थियो । प्रशिक्षण प्रतिष्ठान सञ्चालन हुन नसक्दा पत्रकारको दक्षतावृद्धिमा असर परेको छ । पत्रकार दुई समूहमा विभाजित हुँदै गएका छन् । अर्कातर्फ महासंघ जस्तो नागरिक समाजको अगुवा दस्तामा हुने विवादले समाजमा नकारात्मक असर पुग्दछ ।

महासंघले आफूमाथि उठेका प्रश्नको समाधानमा अगुवाइ गर्नु पर्दछ । विवादले इतिहासको कुनै कालखण्डमा योगदान गरेका व्यक्तिको अपमान र अनादरमात्र हुन्छ । संस्थापक सन्दर्भमा सत्य के हो ? पत्रकारिताको इतिहासको यथार्थ खोजी गरी विशिष्ट योगदान पु¥याउने पात्रका सन्दर्भमा महासंघले धारणा सार्वजनिक गर्नुपर्दछ ।

नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो भन्ने यथार्थलाई स्वीकार गरेको छ । यसैको जगमा संविधान निर्माण भएको छ । र, यो संविधान समावेशी ढाँचाको संविधान हो भन्ने पनि भुल्नु हुँदैन । हिजो इतिहास जित्नेहरुको लेखिन्थ्यो, तर आज हिजो हार्नेहरुको इतिहास पुनःलेखन गर्नु आवश्यक छ । राज्यको मूलप्रवाहबाट किनारीकृत उत्पीडित जाति, वर्ग र समुदायले आज पहिचान र अधिकार खोजेका छन् । उनीहरुले भाषा, संस्कृति र सभ्यतामा आफ्ना पहिचान र अधिकार खोजेका छन् । राज्यमासहभागिता खोजेका छन् ।

इतिहासमा भएका कमजोरी सच्याएर यथार्थ लेखन कार्यमा पत्रकार महासंघ जस्तो साझा संस्थाले अनदेखा गर्न मिल्दैन । संस्थापकको विवादले पत्रकार दुई कित्तामा विभाजित हुँदै गएका छन् । सिङ्गो पत्रकारिता जगत विभिाजित हुने कुराले पत्रकार महासंघलाई क्षति पुर्याउँछ । महासंघ सत्यको मार्गमा हिँड्दा गरिमा र ओझ अढ्झ बढ्छ । अतः पत्रकार महासंघले विज्ञको अध्ययन समूह बनाएर त्यसमार्फत् आउने निष्कर्षलाई सर्वस्वीकार्य हुने वातावरण बनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्