Logo

अफ्रिकन स्वाइन फिभर: गण्डकी प्रदेशमा एक सय १२ बङ्गुर मरे



कास्की, १ फागुन । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने यो रोगको निगरानीकै क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको हो ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोरखामा १३ गरी कुल एक सय १२ बङ्गुर मरेको विवरण छ ।

सङ्क्रमण फैलिँदै जाँदा ठूला/साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाईँ भट्टराईले बताइन् । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ ।

अफ्रिकन स्वाइन फिभर सङ्क्रामक रोग हो । अहिलेसम्म यसको रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्ध छैन । गण्डकी प्रदेशमा गएको वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले रोगका कारण किसानले झण्डै ५० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भोग्नुपरेको छ ।

सुँगुर/बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बङ्गुर, बँदेल प्रजातिको सम्पर्कबाट ती प्रजातिका पशुमा फैलिने गर्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठका अनुसार रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्नेजस्ता लक्षण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्