Logo

‘आरोह जनसङ्गीत यात्रा’ सारङ्गी वादकको प्रस्तुति



काठमाडौँ, ६ फागुन । राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घको ‘आरोह जनसङ्गीत यात्रा’को ४१औँ शृङ्खलामा शनिवार १४ जना सारङ्गी वादकहरूको प्रस्तुति गरिएको छ ।

विभिन्न सार्वजनिक बसमा गीत गाउँदै हिँड्ने गन्धर्वहरूलाई समेत समेटेर सङ्घले केही दिन सञ्चालन गरेको प्रशिक्षणपछि राष्ट्रिय गीत र धुनमा ती वादकहरूले सामूहिक प्रस्तुति दिएका हुन् ।

सो अवसरमा कर्णबहादुर गन्धर्व, लालबहादुर गन्धर्व, शङ्कर गन्धर्व, रामकृष्ण गौली, शेरबहादुर गन्धर्व, सागर गन्धर्व, पूर्ण गन्धर्व, श्याम गन्धर्व, सुजन गन्धर्व, अनिल गन्धर्व, राजु गन्धर्व, साजन गन्धर्व, हेमराज गन्धर्व र अर्जुन गन्धर्वले सारङ्गीका धुन पस्किएका थिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेम अधिकारीले नेपालको पुरानो र मौलिक लोकबाजामा पर्ने सारङ्गीलाई संरक्षण र प्रोत्साहनमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।

जनसङ्गीत कलाकार सङ्घका अध्यक्ष वैकुण्ठ महतले सारङ्गीवादकहरूलाई वैचारिक र सीपमूलक प्रशिक्षणका साथै मञ्च प्रदान गर्न कार्यक्रम गरिएको जनाए । कार्यक्रममा सारङ्गी प्रशिक्षक भरत नेपालीले बाजा बजाउन जान्नु भनेको लय र सन्देश पनि मिलाउन जान्नु भएकाले वादकहरूले त्यसमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्