Logo

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ: प्रधानमन्त्री



काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा उनले भने, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।”

पत्रकारिताजगत्ले सत्य, तथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा छिट्टै निर्णय लिइने बताए । उनले आफूले प्रधानमन्त्रीका रुपमा मुलुकलाई विश्वमाझ चिनाउन प्रयत्न गरेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट विभिन्न मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको बताएका छन् ।

“संयुक्त राष्ट्र सङ्घको महासचिवको नेपाल भ्रमण तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जनाएको सहभागिताबाट नेपालप्रति विश्व समुदायको ध्यान गएको छ”, उनले भने ।

आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उनले भने ।

सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चारजगत्बाट सहयोगको अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्