Logo

डा रुइत नेतृत्वको टोलीद्वारा आँखाको शल्यक्रिया



फायल तस्बिर

ताप्लेजुङ, १९ फागुन । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो ।

डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताए । उनका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरिएको थियो ।

शिविरमा जिल्लाभित्र र पाँचथर तथा तेह्रथुमबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिए । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्