Logo

संकटालाई हराउँदै एपिएफ झापा गोल्ड कपको क्वाटरफाइनलमा



बिर्तामोड, १९ फागुन । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ ।

संकटा फुटबल क्लब काठमाडौँलाई ४-२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो ।

खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएका दुवै टिमले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।

डोमालाल रङ्गशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ: सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

रङ्गशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उनले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुन सक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताएका हुन् ।

दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रङ्गशालामा पूर्वाधार विकास गर्न नसकिएको उनको भनाइ थियो । “बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौँ खर्च भइरहेको छ । सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रङ्गशाला संरक्षण गर्नुपर्छ”, उनले भने, “राम्रो रङ्गशाला बनाउन तपाईँहरूसँगै म पनि लाग्छु ।”

झापालाई खेलकुदको गन्तव्यका रूपमा विकास गरी यसैमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले जनस्तरबाट सहयोग सङ्कलन भई खेलकुद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्