Logo

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित



काठमाडौँ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उनको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा.डिआर उपाध्यायले लेखेका हुन् भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रसंशा गरेका थिए । लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वल्ड रेकर्ड प्राप्त गरेको थियो ।

लुइँटेलले यसअघि युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, ग्लोबल इन्टरनेशनल अवार्ड, डा एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्