Logo

रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ: परराष्ट्रमन्त्री



काठमाडौँ, ५ चैत । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउन सरकारले पहलकदमी गरिरहेको जानकारी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो समस्या समाधान गर्न आफूले वार्ता अघि बढाएको बताएका हुन् ।

उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने, मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको जानकारी दिए ।

“घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने र भर्ना संख्या र घाइतेको संख्या जानकारी माग गर्दै भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउने र बन्दीलाई तत्काल फिर्ता गर्न पहल गर्न हाम्रा अडान कायम छन् र यस अनुरुप काम भइरहेको छ,” उनले भने, “रूस जान चाहनेलाई नियमन गर्न एनओसी लागु गर्यौ र यसलाई विस्तार गरेको छौँ ।, आईसीआरसीको सहयोगमा बन्दीलाई रिहाइ गर्न पहल गरिरहेका छौँ । मैले रूसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरे रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु ।”

परराष्ट्रमन्त्री श्रेष्ठले रूसले पनि क्षतिपूर्ति उपलब्ध गराउने प्रकृया प्रारम्भ गरेको जानकारी दिए । उनले केही देशबाहेक रुसलगायत देशमा परम्परागत सम्झौताअनुसार सेना भर्ती गर्ने सम्झौता नभएको उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्