Logo

वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत



काठमाडौँ, ५ चैत । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

आजदेखि ललितपुरमा सुरु ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी सङ्कलन र व्यवस्थापन आवश्यक छ ।”

उनले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताए । उनले भने, “पानीको सहज उपलब्धता हुनुपर्नेमा दिगो विकासका लक्ष्यले जोड दिएको छ । पानीको उपलब्धता बढाउन वर्षातको पानी सङ्कलन र व्यवस्थापनमा जोड दिनुपर्छ ।”

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालि र नेदरल्याण्ड्स विकास नियोग संस्था (एसएनभी) नेपालको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा सम्मेलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्