Logo

शुक्रबारबाट एक घण्टामै श्रम स्वीकृति: मन्त्री अर्याल



काठमाडौँ, ५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिरहेको बताएका हुन् ।

आगामी शुक्रबारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी सुरु भएको बताए । उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गरेका थिए ।

उनले आफूले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘‘निर्देशन दिनुभन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ । सकिन्छ भनेर नै निर्देशन दिइएको हो । १५ दिन पनि लागेको छ, छिटो दिँदा तीन दिन पनि लागेको छ । टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टाचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौँ बस्दाखेरी पाँच दिन काठमाडौँ बस्नुभयो भने ५० हजार लाग्छ, म २० हजार दिए बनाइदिन्छु भन्ने ।,’’

मन्त्री अर्यालले भने, ‘‘बिचमा दलालहरूले खेलेको भन्नेकुरा आइरहेको हुनाले यसमा त्यो अध्ययनको पाटो भयो । त्यसमा अध्ययन गरिरहेका छौँ । अर्को श्रमिक काठमाडौँ बाहिरबाट आएर धेरै दिन काठमाडौँ बसेर विदेश जानुपर्दा उहाँहरूलाई झनै दु:ख हुन्छ । समयमा श्रम स्वीकृति नदिँदा फ्लाइट टिकट पनि क्यान्सिल गर्नुपर्छ । हामी यसमा संवेदनशील हुनुपर्छ भनेर लागेको हो । आउने शुक्रबारबाट हामी एक घण्टामै श्रम स्वीकृति दिने प्रक्रियामा जानसक्छौँ । एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने बनाउँछु ।’’

प्रतिक्रिया दिनुहोस्