Logo

मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनल प्रवेश 



विराटनगर, २१ चैत । विराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी काठमाडौँको मच्छिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आठौँ संस्करणको उक्त गोल्डकपमा मच्छिन्द्रका जर्सी नं. ३० का स्टेफेन बिनोङले मध्यान्तर अगाडि १० मिनेटमा एक गोल गरेका थिए । कोलकोत्ताका साउर्थनका जर्सी नं १७ का सोनु हवल्दारले ३२ मिनेटमा गोल फर्काएर खेल बराबरमा पु¥याएका थिए ।
मध्यान्तरपछि मच्छिन्द्रका जर्सी नं ३० का स्टेफेनले ५५ मिनेटमा पुनः एक गोल गरी मच्छिन्द्र फुटबल क्लबलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भएका हुन् । मच्छिन्द्रका स्टेफेन खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।
बुधबारको पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफबीच हुने आयोजकले जनाएको छ । गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । विराट गोल्ड कप ट्रष्टद्वारा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्