Logo

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ: प्रधानमन्त्री



गोरखा, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “मैले गत साल नै भनेको थिएँ सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउने तरिका अब परम्परागत हुने छैन, त्यसलाई नयाँ तरिकाबाट सामूहिक विवेकको प्रयोग गर्दै सबै सांसदको राय लिएर बजेट बनाउने प्रक्रिया सुरु भइसकेको छ ।” अध्यादेशमार्फत पुरानै शैलीबाट बजेट ल्याउने परम्परा तोडिएको उनको भनाइ थियो । अब आउने बजेट उत्पादकत्व र रोजगारी केन्द्रित रहने प्रधानमन्त्री दाहालले उल्लेख गरेका थिए  ।

‘‘दश-बीस लाखका साना बजेट पनि सङ्घीय सरकारले नै गर्ने परम्परा तोडिएको छ”, उनले भने, “तीन करोडभन्दा साना कुनै पनि आयोजना अब सङ्घीय सरकारले गर्ने छैन, साना आयोजना सबै प्रदेश र स्थानीय सरकारले गर्ने छन् ।”

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकार फेरि नयाँ शिराबाट अगाडि बढेको बताए । “लघुवित्त पीडितको समस्या वार्ताको माध्यमबाट समाधान गरेर टुङ्ग्यायौँ”, प्रधानमन्त्री दाहालले भने, “मिटरब्याज पीडितहरूको पनि सडकमा जटिल समस्या देखिएको थियो, त्यो पनि समाधान भएर गएको छ, सहकारीसम्बन्धी समस्या पनि नयाँ वर्गीकरणसहित समाधान गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।”

प्रतिक्रिया दिनुहोस्