Logo

आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत: श्रेष्ठ



काठमाडौँ, २७ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रवद्र्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उनले बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सको ७३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको बताए ।

पुँजी वृद्धि र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि गर्दै निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ थियो । त्यसका लागि निजी क्षेत्र र सरकारबीच खुला छलफल र बहस गर्नुपर्नेमा उनले जोड दिए ।

आर्थिक क्रियाकलापलाई गति दिन सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने परराष्ट्रमन्त्री श्रेष्ठले आवश्यकता औँल्याए । मुलुक विप्रेषण, राजस्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोचको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्