Logo

गृहमन्त्री भन्छन्: नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन



काठमाडौँ, १ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

शनिवार नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने पनि बताए ।

उनले काठमाडौँ शहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए । उनले काठमाडौँ जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको जिकिर गरेका थिए ।

उनले भने, ‘सबै गुनासाहरु यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवाअवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ । राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ । अतिरिक्त सुरक्षा व्यवस्था छ, व्यवस्थापन चुस्त बनाइएको छ । सबैजना सुरक्षित हुनुहुन्छ, त्यसकारण शहर जिउँदो छ, उज्यालो छ । नियम र कानूनहरु कडाईका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन । प्रहरीको मनोबल अझ बढाउन सकियोस्, सुधारको काम अझै गर्न सकियोस् ।’

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्