Logo

उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढ्यो: सुवाल



काठमाडौँ, १ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताएका छन् ।

पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा व्‍यक्त गरेका हुन् ।

उनले भने, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दु:ख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।”

नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्णलगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भने, “विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । बिदेसिएका नेपालीहरूको दैनिक ५(१० वटा लाश नेपाल फिर्ता भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्