Logo

कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भन्नुभयो, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’



काठमान्डौ,११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग गर्नुभएको छ । कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उहाले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका लिङ्देनले नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका साथ राजसंस्था पुनर्स्थापना गर्न आग्रह गर्नुभएको छ ।

उहाले लेख्नुभएको छ, ‘लाखौँ नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमिम बिन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ । नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । त्यसैले हीनताबोध नगरौँ, नवीन समझदारी गरौँ, नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनर्स्थापना गरौँ ‘।

प्रतिक्रिया दिनुहोस्