Logo

दमकको मदनडाँगी–ताराबारी डिपु सडक निर्माणकार्यले लियो गति

सडक दमककै उदाहरणीय र नमूना बन्ने : नगरप्रमुख थापा



दमक, १२ बैसाख । झापाको दमक नगरपालिका अन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माणकार्यले गति लिएको छ । अहिले १४ वटा कल्भर्ट र आरसीसीसहितको नालाको काम सम्पन्न भइसकेको छ । दमक–१ र ५ वडा हुँदै दमक–४ को ताराबारी डिपुसम्मको सो सडकको स्थलगत अनुगमन गरिएको हो । आज बुधबार दमक नगरपालीकाका प्रमुख राम थापा सहित इन्जिनियर, ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीय सरोकारवालासहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । नगरप्रमुख रामकुमार थापाले विश्व बैंकको सहयोगमा बन्दै गरेको चार लेन सडकको निर्माण कार्यले तिव्रता लिएको बताउनु भयो । उहाँले अहिले सडक ग्रेडिङको काम र ढल निर्माण सँगै कल्बर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रमुख थापाले देशभरकै १७ वटा पालिकामध्ये दमक नगरपालिकामा पनि विश्वबैकको योजनामा यो सडक परेको भन्दै यो सडक दमककै उदाहरणीय र नमूना बन्ने बताउनु भयो ।

सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गर्न एकै लेभलका विरुवा रोपिने योजनामा उल्लेख गरिएको छ भने साइडमा पैदल यात्री र साइकल लेण्डसमेतको ब्यवस्था गरिने गरी निमार्ण कार्य भइरहेको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ । पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि ४४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको र सोही अनुसार काम भइरहेको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिनुभयो । निर्माणाधिन सडकको गुणस्तर परिक्षणका लागी दुईजना ईन्जिनियरले चौबिसैघण्टा निरिक्षण गर्ने र आवस्यक परेको समयमा आफुहरुले पनि अनुगमन गर्दै आएकोले गुणस्तरिय सडक निर्माण हुने बताउनु भयो ।

सडक निर्माणले गति लिएकोले समयमै काम सम्पन्न हुनेमा स्थानिय आशाबादी देखिएका छन् । पालीकाकै नमुना सडक निर्माणको काम धमाधम भैरहेको स्थानियले बताएका छन् । स्थानीय उपभोक्ता तथा प्रथम नागरिक धिमाल ब्वस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले पछिल्लो समय कामले गति लिएको र अब भने बाटो बन्ला कि भन्ने आशा पलाएको बताउनु भयो । उहाँले समयमा काम सम्पन्न गर्न सके स्थानीयलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

निर्माण समितिका सदस्य भुवन ढकालले कामको गुणस्तर र निर्माण कार्यमा लापरवाही नहोस् भनेर समितिका सदस्यहरु समेत पालैसँग देनिकजसो निमार्ण कार्य भइरहेको ठाउँमा जाने गरेको र गुणस्तरीय बनाउन ठेकदारसँग छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्माण कार्यमा लापरवाही हुन नदिन समिति सजक रहेको बताउनु भयो ।

ठेकदार प्रतिनिधी गंगाराम कोईरालाले तोकिएको मितिभन्दा अगाडी नै निमार्ण कार्य सम्पन्न गर्नेगरी कामलाई तिव्रता दिएको जानकारी दिनुभयो । उपभोक्ता समिति र स्थानीयको साथ र सहयोग पाएको हुनाले तोकिएको समय अगावै काम सम्पन्न गर्ने गरी दैनिक विहानदेखि साँझसम्म काममा लागेको बताउनु भयो । दमककै नमुना र गुणस्तरिय सडक निर्माण भैरहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।

साइड सुपरभिजन किरण कुमार महतले कामको गुणस्तरमा शंका गर्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता ब्यक्त गरेर काम थालिएकाले मापन अनुसारकै काम भइरहेको जानकारी दिनुभयो ।

सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको हो । विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । यो सडक सम्पन्न हुँदा दमक पश्चिमी क्षेत्रका स्थानीयलाई दमक बजारसँग जोडिन सरल हुने स्थानीयको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्