Logo

निर्वाचन प्रणाली संशोधन आवश्यक: डा कोइराला



मोरङ, १६ वैशाख । मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताउनुभएको छ ।

आज मोरङको बूढीगङ्गा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यासका क्रममा नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताउनुभयो ।

स्थिर सरकार नहुँदा जनताले अपेक्षा गरेअनुसार मुलुकको विकास हुन नसकेको उहाँको भनाइ थियो । “अहिलेको निर्वाचन प्रणालीको अवस्था यस्तै रहिरहने हो भने स्थिर सरकार बन्न सक्दैन”, उहाँले भन्नुभयो, “यो प्रणालीमा कुनै दलले बहुमत ल्याउने अवस्था छैन, कुनै दलले स्पष्ट बहुमत नपाउँदासम्म सरकार बनाउने र गिराउने खेल चलिरहन्छ जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्छ ।

कार्यक्रममा नेता कोइरालाले मुलुकको विकासका लागि कांग्रेस र एमाले एक स्थानमा उभिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन गरी मुलुकलाई निकास दिन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० एकै स्थानमा उभिनुपर्छ, दुई दल एकस्थान नउभिँदासम्म संविधान संशोधन हुन सक्दैन ।

कार्यक्रममा बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

बूढीगङ्गा गाउँपालिकालाई स्थानीय योगमाया कार्की र सोहार्द्र कार्कीले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको आठ कट्ठा दुई धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत रु ११ करोड ८६ लाखको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्