Logo

नेपाल पत्रकार महासङ्घ झापाद्वारा आचार्य र हुमागाईँलाई मोती पत्रकारिता पुरस्कार प्रदान



झापा, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ झापा शाखाले तीन दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार केशव आचार्य र कृष्ण हुमागाईँलाई मोती पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

सभामुख देवराज घिमिरेले एक लाख एक हजार एक सय ११ रुपैया राशिको उक्त पुरस्कार सोमबार उहाँहरूलाई संयुक्त रूपमा प्रदान गर्नुभयो । देशका प्रथम पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित उक्त पुरस्कार शाखाको १४औँ अधिवेशनका अवसरमा प्रदान गरिएको हो । हरेक तीन वर्षमा यो पुरस्कार प्रदान हुँदै आएको छ ।

सोही अवसरमा झापाको पहिलो पत्रिका ‘केटो’का नाममा उक्त शाखाले स्थापना गरेको २५ हजार रुपैया राशिको ‘केटो पत्रकारिता पुरस्कार’ पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका सम्पादक नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।

यसैगरी, हेम–सरिता फाउण्डेशनले स्थापना गरेको ५० हजार पाँच सय ५५ रुपैया राशिकोको ‘टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पत्रकार राजबाबु शङ्करलाई प्रदान गरिएको छ ।

यसैगरी, लैङ्गिक समानता पत्रकारिता पुरस्कारबाट बिराट एफएमकी लीला अनमोल र जनआन्दोलन साप्ताहिककी रेजिना गौतम, समावेशी सक्रिय पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका गणेशमान मुखिया , कार्टुन पत्रकारिता पुरस्कारबाट पवन राजवंशी, अनलाइन पत्रकारिता पुरस्कारबाट शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी, छापा पत्रकारिता पुरस्कारबाट मेची खवर साप्ताहिकका सम्पादक झुलन रेग्मी, टेलिभिजन पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका सुदीप अधिकारी र रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका पत्रकार पुष्प बराललाई सम्मान गरिएको छ ।

उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमका चन्द्र बस्नेत र खबर मञ्चका सम्पादक प्रकाश पौडेललाई पुरस्कृत गरिएको छ । मेची–महाकाली साइकलयात्री पत्रकार मुक्ति पौडेललाई पनि सो अवसरमा सम्मान गरिएको छ ।

झापा शाखाले पत्रकारहरू नकुलकाजी, गोविन्दचन्द्र छेत्री, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, शिरोमणि खतिवडा, लीला बराल, लेखनाथ परदेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाललाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।

सोहि अवसरमा महासंघ झापाद्वारा प्रकाशित चौथो अङ्ग नामक बुलेटिनको दोस्रो अंक विमोचन गरिएको थियो ।

सभामुख घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेशका सांसद इन्द्र आङ्बो, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी र महासङ्घका पूर्वमहासचिव चन्द्र भण्डारीले शुभकामना मन्तव्य राख्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

माहसंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयजीत कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा संचालन सचिव डिकेश लामाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्