Logo

आगामी संसद् अधिवेशनबारे सभामुख र समितिका सभापतिहरूबीच छलफल



काठमाडौँ,१८ वैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, संसदीय समितिका सभापतिहरू, राजनीतिक दलका प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरुबीच समितिमा विचाराधिन विधेयकहरू छिटो टुङ्गोमा पुर्‍याउने, आगामी संसद् अधिवेशन प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको छ ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा आज भएको बैठकमा समितिमा विचाराधीन विधेयकहरूमाथि भइरहेको छलफल, समितिका बैठकहरू र समितिबाट विधेयकहरू पास गरी प्रतिवेदनहरू आउने क्रम लगाएतका विषयमा छलफल भएको सभामुख देवराज घिमिरेले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले समितिमा छलफल भएर नटुङ्गिएका विधेयक संसद्को आगामी अधिवेशन आव्हान हुनुभन्दा अगाडी नै छिटो समिति र उपसमितिहरूको बैठक बसेर गति दिने र टुङ्ग्याउने विषयमा बैठक निष्कर्षमा पुगेको जानकारी गराउनुभयो ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संभवत यही वैशाख २५ वा २६ गते संसद्को बैठक आव्हान हुने र आउने अधिवेशनमा समितिमा रहेका विधेयकहरू छिटो भन्दा छिटो टुङ्ग्याएर संसदबाट अगाडी बढाउने गरी काम भइरहेको बताउनुभयो ।

कानुन मन्त्री गिरीले संविधान र समयानुकूल थुप्रै कानुन बनाउन आवश्यक रहेको भन्दै आउने अधिवेशनले विधेयकहरूलाई संसदबाट पास गर्ने विषयमा उल्लेखनीय प्रगति हासिल गर्ने बताउनुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र अर्थ समितिका सभापति सन्तोष चालिसेले समितिका कामकारवाहीहरूलाई प्रभावकारी बनाउने, समितिमा कोरम नपुग्ने समस्याको समाधान गर्ने, विधेयकमाथिको छलफल प्रभावकारी बनाएर टुङ्गोमा पुर्‍याउने र समितिका सभापतिहरूले खेल्ने भूमिका लगायतका विषयमा छलफल भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्