Logo

झापाको भद्रपुरमा बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत



झापा,१८ बैशाख । झापाको सदरमुकाम रहेको भद्रपुरमा आज मंगलबार बजार अनुगमन गरिएको छ ।

उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा खाद्य तथा किराना पसल र फलफूल पसलहरुमा अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत संगीता शाह, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधर्री, कामिन राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी सहायक निरीक्षक बलकुमार राईलगायतको टोलीले भद्रपुर बजारका खाद्य तथा किरानाका थोक बिक्रेता र फलफूल पसलमा अनुगमन गरेको अनुगमन समितिका फोकल पर्सन राजश्व शाखा प्रमुख सुशील कर्णले बताउनुभयो ।

अनुगमन टोलीले भद्रपुर ४ स्थित गंगाा स्टार, राजेन्द्र स्टोर, जोसना फलफूल पसल, भद्रपुर ५ को पार्वती स्टोर र भद्रपुर ६ को बिक्की स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री तथा पेय पदार्थ फेला परेको र ती सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिकी संयोजक तथा उपप्रमुख राधा कार्कीले जानकारी दिनुभयो । उहाले बजारमा सामानहरुको मूल्यमा एकरुपता नभएको, म्याद गुज्रिएका सामान पाइने गरेकोजस्ता जनगुनासो आइरहेकोले बजार अनुगमन गरिएको बताउँदै बजार अनुगमन तीव्रताका साथ निरन्तरता दिइने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्