Logo

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा



झापा, १८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो । मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उहाँले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताउनुभयो ।

जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उहाँले जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफुले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताउनुभयो । उहाँले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सुझाव दिनुभयो । “प्रविधिप्रति अविश्वास गर्नुहुँदैन, भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्”, उहाँको भनाइ थियो ।

दुई पूर्वनगर प्रमुख सम्मानित

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्वनगर प्रमुखद्वय रवीन कोइराला र विमल आचार्यलाई यस क्षेत्रको सामाजिक तथा राजनीतिक विकासमा पु¥याएको योगदानका लािग सम्मान गरिएको थियो । उहाँहरुलाई सङ्घीय सांसद विश्वप्रकाश शर्माले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । पूर्वनगर प्रमुखद्वय कोइराला र आचार्यले काँकडभिट्टा खानेपानीको स्थापना र विस्तारमा ठूलो योगदान पु¥याउनुभएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्