Logo

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज



काठमाडौँ, १९ वैशाख । नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट बुधबार आज हुदैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको पाँच खेलको शृङ्खला हाल १–१ को बराबरीमा छ ।

शृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

शृङ्खलाको पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निम्ता पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

यसैगरी दोस्रो खेलमा टस जिती पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सकेको थियो ।

अघिल्ला दुबै खेलमा नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । शृङ्खलाको पहिलो खेलमा रोहितले एक सय १२ रन बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५४ बलको सामना गरी ६ छक्का र १० चौका हिर्काएका थिए ।

दोस्रो खेलमा उनले टोलीका लागि अविजित ७१ रनको योगदान गरेका थिए । यस क्रममा उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । वेस्ट इन्डिजका लागि भने पहिलो खेलमा कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाएका थिए ।

भ्रमणकारी टोली वेस्ट इन्डिजका लागि दोस्रो खेलमा विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले ४३ रन बनाएका थिए । शृङ्खलाको चौथो खेल बिहीबार खेलिने छ । पाँचौँ तथा अन्तिम खेल भने शनिबार खेलिने भएको छ ।

वेस्ट इन्डिजविरुद्धको शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्