Logo

प्रधानमन्त्री प्रचण्डद्धारा ‘झापाको पत्रकारिता’ पुस्तक विमोचन



झापा, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तकको विमोचन गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गर्नुभएको हो ।
राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको २७अौं महाधिवेशन उद्घाटन समारोहमा झापाको पत्रकारिता ९आरम्भदेखि ०४०० पुस्तकको विमोचन गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पुस्तकमा झापाको पत्रकारिताको इतिहासको दस्तावेजीकरण, ०४० सम्मका अग्रज पत्रकारहरुको परिचय, महत्वपूर्ण अभिलेख, महासंघको हाल सम्मका कार्यसमितिको विवरण लगायतका विषय समेटिएको छ । कभर सहित २७६ पृष्ठको पुस्तकमा अग्रलेख,अन्तरबोध खण्ड,संस्मरणरलेख खण्ड र अभिलेख खण्डमा इतिहासका विविध विषय समेटिएको छ ।

प्रधानमन्त्री प्रचण्ड , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा , नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले शुभकामना व्यक्त गर्दै झापाको पत्रकारिता पुस्तक प्रकाशन गरेर महासंघ झापा शाखाको वर्तमान कार्यसमितिले रचनात्मक र उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।

सात दशक पार गरेको झापाली पत्रकारिताको बारेमा बुझ्न , खोज अध्ययन अनुसन्धान गर्न चाहने जो सुकैका लागि पुस्तक उपयोगी हुने अध्यक्ष गिरीले बताउनुभयो । पुस्तकको सम्पादकमा अग्रज पत्रकार गोपाल गिरी र राजबाबु शंकर रहनुभएको छ । अध्यक्ष गिरीले पुुस्ततकका सम्पादक, लेखक पत्रकार ,प्रकाशनमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । पुस्तकको प्रकाशन सहयोगी बिर्तामोड नगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्