Logo

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

हामीले अघिल्लो पुस्ता हेरेर खेल्यौँ : कप्तान पौडेल



काठमाडौँ, २२ वैशाख । अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले शुक्रबार राति खेलाडी टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई बिदाइ गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशलाई एकताको सुत्रमा बाँध्ने काम क्रिकेटले गरेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली क्रिकेटले उल्लेख्य सफलता हात पारेको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिनुभयो । सरकारले क्रिकेटलाई उच्च प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो ।

यस्तै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली क्रिकेटबाट देशले ठूलो अपेक्षा गरेकोले हार जित भन्दा पनि विश्वकपमा उत्कृष्ट खेल्न आग्रह गर्नुभयो । उहाँले क्रिकेट टोलीले विश्वकप छनोट भएवापत घोषणा गरिएको खेलाडीले प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न अर्थ मन्त्रालयसँग पहल गरिरहेको जानकारी पनि दिनुभयो ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले सिमित साधन र श्रोतबिच नेपाली क्रिकेटले हात पारेको सफलताले विश्वलाई अचम्म पारेको बतानुभयो । उहाँले राखेपले क्रिकेटको विकासका लागि छुट्टै योजना बाएर अगाडि बढ्न लागेको र विश्वकपमा खेलाडीबाट उत्कृष्ट नतिजाको आशा गरेको पनि बताउनुभयो ।

हामीले अघिल्लो पुस्ता हेरेर खेल्यौँ : कप्तान पौडेल

बिदाइ कार्यक्रमा कप्तान रोहितकुमार पौडेलले १० वर्षअघि पारस खड्का, शक्ति गौचन र बसन्त रेग्मीहरुले विश्कप खेलेको देखेर क्रिकेट खेलेको र त्यो सपना अहिले आएर पूरा भएको बताउनुभयो । ‘‘हामीले अघिल्लो पुस्ता हेरेर खेल्यौँ । हामीलाई हेरेर भावी पुस्ताले खेल्ने हो । तयारी राम्रो गरेकोले विश्वकपमा उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नेछौँ,’’ रोहितले भन्नुभयो ।

प्रशिक्षक मोन्टी देसाईले विश्कपमा पुग्नु एउटा सपना भएको र त्यसलाई उपलब्धिमूलक बनाउन सबैले मिहेनत गर्नुपर्ने बताउनुभयो । पछिल्लो एक वर्ष नेपाली क्रिकेटमा धेरै राम्रो भएको छ । उहाँले भन्नुभयो, ‘‘हामी ठूलो अभियानमा निस्किएकोले आशा छ, त्यसलाई साकार पार्नेछौँ ।’’

प्रतिक्रिया दिनुहोस्