Logo

सन्दीपको मुद्दा आज पनि हेर्न नमिल्नेमा



काठमाडौं , २३ वैशाख । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार सम्वन्धी मुद्दाको पुनरावलोकनले प्राथमिक्ता पाएपनि हेर्न नमिल्नेमा परेको छ ।

सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिएका थिए। त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो। तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । सामान्यतया झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ । स्रोतका अनुसार कम्प्युटर सिष्टममा नै हेर्न नमिल्ने सूचीमा परिसकेपछि मुख्य न्यायाधीश निरौलालाई मुद्दा पन्छाउन सजिलो भयो ।

यद्यपि मुख्य न्यायाधीश निरौलाले हेर्न चाहेको भए उनलाई कुनै कानुनी रोकावट भने थिएन ।

 

प्रतिक्रिया दिनुहोस्