Logo

झापा सहित कोसीका चार जिल्लामा सहारा नेपालको गोठ सुधार अभियान



झापा, २४ वैशाख । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ कोसी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ ।

झापाको विर्तामोडमा रहेको संस्थाले झापा, मोरङ, इलाम र उदयपुरका किसानलाई समूहमा सङ्गठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारीकरणमा सहयोग प्रदान गर्दै आएको हो ।

सहाराका पाँच हजार सदस्यलाई उद्यमी बनाउने उद्देश्य राखेर गाई, बाख्रा, सुँगुर र कुखुरा फार्म सञ्चालन गर्न अभियानमा जोडिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सात सय किसानलाई बाख्रापालक उद्यमी बनाइएको छ ।

“परम्परागत तरिकाले गरिएको पशुपालनबाट उल्लेख्य उपलब्धि हासिल हुँदैन भनेर हामीले किसानलाई बुझाउँछौँ । आधुनिक सीप र प्रविधिको ज्ञानका साथै आवश्यक सहयोग गर्दै आएका छौँ”, गिरीले भन्नुभयो, “सदस्यहरुको समूह बनाएर गोठदेखि बजारसम्म सबै प्रकारको सहयोग पुर्‍याउँदै आएका छौँ ।” गाई फार्म र बाख्रापालनमा आबद्ध किसानको घरदैलोमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

बाख्राको नश्ल सुधारका लागि यसै साता झापाको दुई, मोरङ र इलामका एक÷एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण गरिएको संस्थाका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो । उहाँका अनुसार सिरोही र पोटा जातका बोका किसानलाई दिइएको हो ।

मोरङको केराबारीस्थित लगनशील सहारा कृषक समूह, इलामको दानाबारीस्थित बिहीबारे सहारा कृषक समूह, झापाको गोलधापस्थित देउराली सहारा कृषक समूह र झापाको बुधबारेस्थित सिर्जनशील सहारा कृषक समूहलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका शेयर सदस्यलाई लक्षित गरेर गोठ बनाइदिने र रोग प्रतिरोधक भ्याक्सिन निःशुल्करुपमा उपलब्ध गराउने कार्य भइरहेको संयोजक ओलीले बताउनुभयो ।

सहाराको कार्यक्षेत्र रहेको कोशी प्रदेशको छ वटा जिल्लामा बाख्रापालक किसानका ४४ समूह बनाइएको छ । किसानलाई कर्जा, आवश्यक तालिम, बीउ, बजार पहिचानलगायत क्षेत्रमा सहयोग उपलब्ध गराइएको संस्थाका पशु चिकित्सक डा कमलेश्वर भाटले बताउनुभयो । गाईपालक र बाख्रापालक किसानलाई परामर्श सेवा प्रदान गर्नका लागि संस्थाले नेदरल्यान्डबाट पशुविज्ञ चिकित्सक ल्याएको उहाँले जानकारी दिनुभयो ।

नेदरल्यान्डबाट आउनुभएका डा गेरेट टेकनसहितको पशुविज्ञ टोलीले झापा र इलामका किसानको गोठगोठमा पुगेर अनुगमन गरेको थियो ।

“कतिपय किसानको गोठमा खसीबाख्रा एक्कासी मर्ने समस्या थियो”, पशु चिकित्सक डा भाटले भन्नुभयो, “नेदरल्यान्डबाट आएका पशुविज्ञले गोठहरुको अनुगमन गरेर समस्या पहिचान गरी समाधान गर्नुभयो । यसबाट किसानले पशुपालनको विश्वस्तरीय ज्ञान प्राप्त गर्न पाउनुभएको छ ।”

बुद्धशान्ति–५ का खगेन्द्र गौतमको बाख्रा गोठमा एकैपटक ४० वटा बाख्रा गत चैतमा मरेका थिए । नेदरल्यान्डका पशुविज्ञ डा टेकनले उहाँको गोठको अनुगमन गरी किसानसँग समस्याका बारेमा छलफल गर्नुभएको थियो ।

पशुविज्ञ टोलीले बाख्रापालनमा गोठ, आहार र नश्ल सुधारमा उन्नत तरिका अपनाउन सुझाव दिनुभएको थियो । टोलीले बाख्राले खाँदै आएको घाँस र दानाकोसमेत अध्ययन गरेको थियो ।

गाईपालनका बारेमा डा टेकनले सिमेन्टको पक्की भुइँमा भन्दा खुला माटोमा बस्न दिँदा राम्रो हुने सुझाव दिनुभएको उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो । उहाँका अनुसार टोलीले शिवसताक्षी नगरपालिकाको बिन्दबासिनी गाई फार्म र मेचीनगरको कुबेर बाख्रा फार्मको अनुगमन गरी किसानलाई गोठ सुधारका लागि आवश्यक परामर्श दिएको थियो ।

पशुपालनमा गोठ र नश्ल सुधारसँगै आहार, पशुको स्याहारको उचित व्यवस्थापन मिलाउनु पर्ने सहाराका बालीविज्ञ राजेन्द्र खरेलले बताउनुभयो । संस्थाका तर्फबाट खरेलले किसानलाई कृषिसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्