Logo

एकीकृत समाजवादी संसदीय दलको बैठकः पार्टी एकढिक्का रहेको निष्कर्ष



काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो ।

आइतबार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी सुरु हुन थालेको थियो । सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढङ्गले भूमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनु भयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यस्तै, उहाँले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरुको पार्टी एकढिक्का भएको बताउनु भयो ।

‘‘१८ जनाको सहभागिता थियो । सम्पूर्ण सदस्य उपस्थित थियौँ । बजेट अधिवेशनमा हाम्रो दलको भूमिका हामीले संसदमा कसरी खेल्ने ? कसरी जनताका मुद्दाहरुलाई उठाउने र अहिले आगलागीको समस्या, बाढी, पहिरोको समस्यालाई संसदमा सशक्त ढङ्गले उठाउने र संसदीय दललाई प्रभावकारी ढङ्गले उभ्याउने भन्ने पहिलो निर्णय भएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने, आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘हाम्रो पार्टीको बारेमा अनेकखालका हल्लाहरु चलाइए, ६ जना सांसद त्यहाँ गए । यो सँग भेटे भनेर कपोकल्पित समाचार आएको हामीले सुन्यौँ । त्यसबारेमा हाम्रो पार्टी प्रष्ट छ, हाम्रो संसदीय दलका सदस्यहरु, हाम्रो पार्टीका सांसदहरु कहीँ कतैपनि जानुभएको छैन । कहिँ कसैसँग साँठगाँठ गर्नुभएको छैन । हामी एकढिक्का भएर एकीकृत समाजवादीलाई बलियो बनाउन चाहान्छौँ र यो पार्टीको भूमिकालाई अझै सशक्त बनाउँछौँ भन्ने कुरालाई आजको बैठकले सन्देश दिएको छ ।’’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले अनावश्यक रुपमा बाहिर हल्ला चलाइएको बताउनुभयो । उहाँले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताउनुभयो । उहाँले एकीकृत समाजवादीसहितका दलहरुले अर्को समिकरण बनाउँदैछन् भनेर गलत हल्ला चलाइएको पनि बताउनुभयो ।

उपाध्यक्ष भुसालले भन्नुभयो, ‘‘हामी १८ जना उपस्थित भयौँ । छलफल ग¥यौँ । त्यस्तो हाम्रोभित्र केही पनि छैन । यो अनावश्यक हल्ला हो । बाहिर अनावश्यक रुपले हल्ला चलाएका छन् । क–कसले चलाएका हुन् थाहा छैन । कुनैपनि अर्थ छैन यस्ता भेटघाट, सरसल्लाह बाहिर आएका प्रचारको कुनैपनि अर्थ छैन । जे खालको अर्को समिकरण गर्दैछन् भन्ने हल्ला चलाइएको छ त्यो नै गलत हो । कुनै केही पनि भएको छैन । त्यस्तो केही भएको छैन ।’’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकलाई हतोत्साहि गराउनका लागि बालकोटमा बसेर एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताउनुभयो । उहाँले योजनावद्ध रुपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरुलाई कुनै असर नपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक दल विभाजनले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताउनुभयो । उहाँले ठूला दलहरुले नै जसपा विभाजनका लागि भुमिका खेलेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्