Logo

पार्टी विभाजन असंवैधानिक छ, हामी अदालत जान्छौँ : अध्यक्ष यादव



काठमाण्डौ, २६ वैशाख । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।

पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढङ्गले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताउनुभयो । पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनुभयो ।

‘‘गैरकानुनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । र, त्यो प्रमाण पत्र दिएको यहाँहरूले हेर्नुभएको छ । नेपालको इतिहासमा यति छिटो प्रमाणपत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन, मुद्दामा फरक छैन । अव व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्ने हो भने सांसद बनेका छन् । मन्त्री बनेका छन् । अब त्यहाँभन्दा बढी बनाउने त हामीसँग क्षमता छैन ।,’’ अध्यक्ष यादवले भन्नुभयो, ‘‘नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेको छ । ती मुद्दाहरूलाई धरापमा पार्ने, सङ्घीयतालाई धरापमा पार्ने गरी पार्टी विभाजन गर्‍यौँ भन्ने छ । किन गर्‍यौँ भन्दा कुनै तर्क छैन ।’’

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरूले अदालतमा गएर चुनौती दिने अध्यक्ष यादवको भनाइ थियो । उहाँले जसपा, नेपालले वर्तमान सरकार ढालेर कांग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताउनुभयो । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत् रहेको र त्यो कसरी अगाडि बढ्छ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनुभयो ।

‘‘पार्टी विभाजन गरिएको जुन घोषणा भयो र दर्ता गरे । त्यो असंवैधानिक छ । त्यसमा हामी कोर्टमा चुनौती दिन्छौँ लिगल र सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले चाहिँ त्यो भ्रमलाई जुन भ्रम फैल्याइएको थियो । कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदै छ । त्यो अत्यन्त कपोलकल्पित, बेसलेस कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो ।,’’ अध्यक्ष यादवले भन्नुभयो, ‘‘त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति जसपाको अहिले निरन्तर समर्थन छ । हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । हाम्रो समर्थन यथावत् नै छ । र, यो रहन्छ । अब यसपछि परिस्थिति कसरी निर्भर रहन्छ रु त्यसमा भर पर्छ रु’’

अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्