Logo

झापा मेचीनगरका तीन वेसाहारा बालबालिकाको नाउँमा घर निर्माण हुने



झापा, २६ वैशाख । आमाको देवाहसनपछि गाँस र बासको समस्यामा परेका झापा मेचीनगर-१२ का तीन बालबालिकाको नाउँमा घर निर्माण हुने भएको छ । परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा भुजेलको निधनपछी बालबालिकाको गाँस, बास र शिक्षाको ब्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको आग्रह गरेसँगै संकलित रकमबाट घर निर्माण गरिदिने भएको हो ।

दाताहरुबाट नगद र घर निर्माणका सामाग्री सहयोग जुट्न थालेपछि करिब १० लाखबढी लागत स्टिमेटमा टिनको छानासहित भान्ससहित २ कोठे घर निर्माणको प्रारम्भ गरेको हो । घर निर्माणका लागि मंगलबार बसेको भेलाले प्रालिका संचालक तथा सम्पादक खगेन्द्र घिमिरेको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति गठन गरेको छ ।

समितिको सदस्यमा गङ्गा उराउँ मेचे, गोपि रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी,सन्दीप तिम्सिना, भीम कुवर,कविन्द्र श्रेष्ठ, सुमित्रा गौतम रहेका छन् । घर निर्माणार्थ हालसम्म विभिन्न ठाउँबाट दाताहरुले ७० हजारबढी नगद र निर्माणका सामाग्री सहयोग गर्ने वचन दिएका छन् । हातेमालो जनसेवा समाजका केन्द्रिय सदस्य राम थापाले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने, मेचीनगर-१० का वडासदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बिमाको सहयोग गर्ने भएका छन् ।

मेचीनगर(५ का उमेश उप्रेतीले घर निर्माणका लाग्ने काठको ब्यवस्थापन गर्ने भएका छन् । त्यस्तै इट्टा, रङ्गरोगन, पिउँने पानीको ब्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिदै आएका छन् । नगद सहयोगसमेत जुट्दै आएको छ । तीन बालबालिकामध्ये रोहन कक्षा ५ मा, तारा कक्षा ४ मा र करुणा कक्षा २ मा स्थानीय मेचीनगर(११ स्थित बलभद्र माबीमा अध्ययनरत छन् । उनीहरुलाई उचित शिक्षा र त्यसको ब्यवस्थापन गर्न समेत शिक्षासेबीहरुले इच्छा व्यक्त गर्दै आएका छन् ।

संयोजक घिमिरेले घर निर्माण सम्पन्न गर्न अझै आर्थिक अभाव नै भएकाले इच्छुक दाताहरुलाई स्वच्छिक रुपमा सहयोग पुर्याएर घर निर्माणको अभियानअवधीभर साथ दिन अनुरोध गर्नु भएको छ ।

उमेरले वृद्ध मृतक भुँजेलको श्रीमान धनबहादुर भुँजेल गाउँमा मेलापात र मजदुरी गर्दै आएका छन् । आफ्नो नाउँमा जमिन नहुँदा स्थायी बसोबास गर्न नसकेका भुँजेल परिवार बिगत ४ वर्षयता मेचीनगर-१२ स्थित हडिया खोलाको ऎलेनी जमिनमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्