Logo

कोशीमा नयाँ सरकार गठन आह्वान गर्न एमाले र माओवादीको माग



विराटनगर, २६ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बुधबार कोशीका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आग्रह गरेका छन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत नेताहरु उुग्नु भएको थियो ।

प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका स्रोतले वताएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

तर मुख्यमन्त्री कार्कीले भने संविधानको १६८ ५ अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिनु भएको छ ।

एमाले र माओवादी सांसदको प्रस्तावमा प्रदेशसभाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । उक्त संकल्प प्रस्ताव अनुसार पनि मुख्यमन्त्रीले २५ वैशाखसम्म विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने विपक्षी दलहरुको मत छ ।

प्रतिक्रिया दिनुहोस्