Logo

संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छः पूर्व सभामुख ढुङ्गाना



काठमाडौँ, २७ वैशाख । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताउनुभएको छ ।

प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको राजनीति, साहित्य, पत्रकारिता र सामाजिक सञ्जाल’ विषयक गोष्ठीमा उहाँले संविधानको रक्षाका लागि यसमा भएका दोष र कमजोरीको समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ । २००७ सालदेखि नै हामीले महत्वपूर्ण समय खेर फालिसकेका छौँ । हामीले परिवर्तन त ल्यायौँ तर त्यसले काम गरिरहेको छ त ? स्वदेशमा भविष्य नै छैन भनेर युवाहरु विदेशीने क्रम किन बढ्दो छ ? त्यसैले अब यि सबै विषयमा हामीले गम्भीर समीक्षा गर्नु जरूरी छ ।” उहाँले राजनीतिक दलबीच बढ्दो दूरीले जनमानस तथा विकास प्रक्रियामा नै असर परिरहेको र त्यसले राष्ट्रियतामा समेत नकारात्मक प्रभाव पारेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त सङ्घीयताले पूर्णता पाउन नसकेको तर्क गर्नुभयो । “सङ्घीयतामाथि नै प्रश्न उठ्दैछ । निर्वाचन प्रक्रिया खर्चिलो भयो, प्रदेश सरकार खारेज गरिनुपर्छ जस्ता आवाज उठिरहेका छन्”, उहाँले भन्नुभयो, “तर हामीले संविधानप्रदत्त प्रहरी प्रशासन र कर्मचारीको अधिकार पनि प्रदेशलाई दिन चाहेका छैनौँ । त्यसैले निर्वाचन प्रणालीसहित यि विषयमा गम्भीर समीक्षा र सुधार हुनुपर्छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले प्रतिनिधित्व र निर्वाचन प्रणालीको तादम्यता कसरी मिलाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरता पैदाभएको छ । संविधानलाई कुनै न कुनै ढङ्गले परिमार्जन गरेर राजनीतिक स्थिरता र आर्थिक, सामाजिक तथा विकासका निम्ति बहस थाल्न जरूरी भइसकेको छ । पात्र विशेषले भन्दा परिस्थितिले जस्तो स्थिति उत्पन्न भइरहेको छ त्यसमा बढी केन्द्रित भएर छलफल गयौँ भने सकरात्मक निष्कर्ष निकाल्न सकिन्छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सङ्घीयतामा तल्लो तहलाई अधिकार दिने भनिए पनि माथिल्लो तहलाई बढी अधिकार दिएका कारण समस्या भइरहेको धारणा राख्नुभयो । “अधिकार दिइएको छ, संरचना पनि बनाइयो तर स्रोतको समान वितरण हुनसकेको छैन । सीमित स्रोतसाधनको पनि दुरुपयोग भइरहेको छ । यस्तो अवस्थामा कसरी परिवर्तनको अनुभूति गर्न सकिन्छ ? त्यसैले अब शासकीय स्वरूपमा परिवर्तन वा निर्वाचन प्रणालीमा फेरबदल हुनुपर्यो । स्थानीय तहलाई पनि बढी जवाफदेही बनाउनुपर्यो”, उहाँले भन्नुभयो ।

प्राध्यापक अभि सुवेदीले समाजवाद र राजनीतिक प्रणालीको सही प्रयोगका लागि राजनीति षडयन्त्रको सिद्धान्तभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भाषाविद् शरदचन्द्र वस्तीले नेपाली भाषालाई विस्थापित बनाउने कार्य भइरहेको बताउनुभयो । “भाषाको अतिक्रमण भइरहेको छ । अरु भाषाबाट शब्द आउँदैमा भाषा बिग्रने होइन, हाम्रो भाषा बचाउन गम्भीरता चाहिन्छ । भाषाको मूलतत्व सर्वनाम, विभक्ति, क्रियापदमा अतिक्रमण भयो भने भाषा बिग्रिन्छ । भाषा शैलीमा भएको अतिक्रमण सबैतीर समस्या देखिन्छन् । अहिले त्यही भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्