Logo

प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनीयताका शपथ



सुदूरपश्चिम, २७ वैशाख । बझाङ जिल्ला, प्रदेशसभा (१) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । धनगढीस्थित प्रदेशसभा सचिवालयमा सभामुख भीमबहादुर भण्डारीले नवनिर्वाचित प्रदेशसभा सदस्य भण्डारीलाई शपथ गराउनुभएको हो । उपनिर्वाचनमा भण्डारी नेकपा (एमाले)को तर्फबाट एघार हजार छ सय १२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले एघार हजार तीनसय ४६ मत पाउनुभएको थियो । विसं २०७९ मा भएको निर्वाचनमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिँहको गाडी दुर्घटनामा गतवर्ष असारमा निधन भएपछि बझाङ प्रदेशसभामा उपनिर्वाचन गरिएको हो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ र उपनिर्वाचनबाट भण्डारी निर्वाचित भएसँगै एमालेका ११ सदस्य पुगेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिँदै गएको छ । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारीले आउने जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि दुई पटक बोलाइएको बैठक स्थगित गरिएको थियो । सत्ता साझेदार एमाले विश्वासको मत दिनेबारेमा थप छलफल गर्नुपर्ने भन्दै तत्काल सहमत हुन नसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्