Logo

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ १ गते बस्ने गरी स्थगित



काठमाडौँ,२८ बैशाख । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

सभामुखले पटक पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीलाई बोल्न दिन आग्रह गरिरहँदा पनि कांग्रेसका सांसदहरूको नाराबाजी पछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गर्नुभयो ।

सभामुखले प्रतिनिधिसभाको अर्को बैठक जेठ १ वजे बेलुकी ६ बजे बस्ने जानकारी गराउनुभयो ।

यसअघि, कांग्रेस सांसदहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न र सहकारी पीडितहरूलाई न्याय दिन माग गर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गर्नुभएको थियो ।

त्यसपछि पुनः सुरु भएको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबी लामिछानेले बोल्न खोज्दा पनि कांग्रेसको अवरोध जारी राखेको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म कुनै पनि संसदीय गतिविधि सञ्चालन हुन नदिने अडान लिएको छ ।

निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकको सुरुमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।

सांसद थापाले सरकार आफै वातावरण बिगार्न आएको र सरकारकै कारण अप्ठ्यारो सिर्जना भएकोले अब संसद्को कुनै पनि कामकारबाही अघि बढ्ने कुरामा कांग्रेसको साथ नरहने बताउनुभयो ।

सांसद थापाले गृहमन्त्रीले राजीनामा दिई संसदीय छानबिन समिति गठन गरौँ भन्दा पनि सत्ता पक्षले नमानेको भन्दै सदन नचल्नुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्