Logo

दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपतिलाई सरकारको अनुरोध



काठमाडौँ,२८ बैशाख । सरकारले जेठ १ गते मङ्गलवार दिनको तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जेठ १ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय भएको र त्यसका लागि सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको बताउनुभयो ।

प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गरेको, राष्ट्रिय व्यापार सहजिकरण समिति गठन गरी काम कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले जलस्रोत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको पनि सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत नेपाललाई प्राप्त हुने करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने र मन्त्रालयगत हुने विभिन्न वैदेशिक भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्