Logo

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो



झापा, ३१ बैशाख । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो ।

बिर्तामोडले नगरभित्रका ९९।१८ प्रतिशतलाई मानिसलाई औषधि सेवन गराउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो । बिर्तामोडको कूल जनसङ्ख्या एक लाख २० हजार तीन सय ३८ मध्ये एक लाख १० हजार तीन सय ५५ लाई ओषधि खुवाउने लक्ष्य लिएको थियो ।

नगरपालिकाले लिएको लक्ष्यभन्दा धेरै जनालाई औषधि सेवन गराउन सफल भएको नगरपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा १।९ प्रतिशत अर्थात् १०९ प्रतिशतलाई औषधि सेवन गाइएको हो ।

“बिर्तामोडले निर्धारण गरेको लक्ष्यमा औषधि खान नमिल्ने जनसङ्ख्यालाई कटाइएको थियो । त्यसलाई आधार मान्दा लक्ष्यभन्दा बढीलाई औषधि सेवन गराइएको छ”, फोकल पर्सन सापकोटाले भन्नुभयो, “जिल्लाको कूल जनसङ्ख्यालाई आधार मानेर प्रतिशत निकाल्ने गरिएको छ । नगरले औषधि खान मिल्नेलाई मात्रै आधार मानेर औषधि खानेको सङ्ख्यालाई प्रतिशतमा निकालेकाले १।९ प्रतिशत देखिएको हो ।”

अभियानअन्तर्गत १० वटा वडा रहेको बिर्तामोडमा वडा नं १ मा १० हजार आठ सय ८१, वडा नं २ मा १२ हजार छ सय ५५, वडा नं ३ मा ११ हजार छ सय १९, वडा नं ४ मा १४ हजार सात सय ९३ र वडा नं ५ मा २४ हजार २३ जनाले औषधि सेवन गरेका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ६ मा सात हजार एक सय ३४, वडा नं ७ मा आठ हजार तीन सय ५६, वडा नं ८ मा छ हजार छ सय ६९, वडा नं ९ मा पाँच हजार छ सय ४२ र वडा नं १० मा आठ हजार पाँच सय ८३ जनाले आमऔषधि सेवन कार्यक्रमअन्तर्गत ओषधि सेवन गरेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अभियानका क्रममा भद्रपुर नगरपालिकामा सबैभन्दा कमले औषधि सेवन गरेका पाइएको छ । वैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालित अभियानमा भद्रपुरले ४४।२७ प्रतिशत औषधि सेवन गराएको नगरपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीमा ७७, अर्जुनधारामा ७४, कनकाईमा ८५, शिवसताक्षीमा ८४, दमकमा ७० र गौरादह नगरपालिकामा ६२ प्रतिशतलाई औषधि सेवा गराइएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा ९०, कमलमा ६७, गौरीगञ्जमा ७७, झापामा ७५, बाह्रदशीमा ८५, हल्दिवारीमा ७० र कचनवकल गाउँपालिकामा ८४ प्रतिशत नागरिकले औषधि सेवन गरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्राकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै पालिकाको लक्ष्य ८० प्रतिशत रहेकामा २० प्रतिशतलाई सेवन गर्न नमिल्ने समूहमा गणना गरिएको थियो । सबै पालिकाको ८० प्रतिशत नतिजा भनेको करिब शतप्रतिशत रहेको बाह्राकोटीको भनाइ छ ।

अभियानको १५औँ दिनसम्ममा झापामा आठ लाख चार हजार सात सय ३७ जनालाई औषधि सेवन गराइएको हो । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले झापासहित सात जिल्लामा हात्ती पाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्