Logo

हल्दिबारीका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा



झापा, १ जेठ । हल्दिबारी गाउँपालिका ४ नम्बर वडा कार्यालयले ५० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । वडाले गत आर्थिक वर्षमा बिमा गरिदिएको ५० घरपरिवारको स्वास्थ्य बिमा पनि नवीकरण गरिदिएको छ । वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमलाई समावेश गरेको छ ।

नयाँ बिमा गर्न र नवीकरण बापत ३ लाख ५० हजार खर्च भएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिनुभयो। अति विपन्न नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर गत वर्ष देखि नै यो कार्यक्रम लागु गरिएको उहाले बताउनुभयो । स्वास्थ्य उपचारको लागि हल्दिबारी गाउँपालिकामै २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन भइरहेको हल्दिबारी आधारभूत अस्पताल पनि रहेको छ।

वडा अध्यक्ष थापाको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्यहरू भागिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज यसैगरी महेन्द्र माविका प्रअ, जलथल स्वास्थ्य चौकी इन्चार्ज माधवप्रसाद यादव लगायतको उपस्थिति रहेको थियो। स्वास्थ्य बिमा कार्ड लागु हुने समय, यसबाट पाउने सुविधा लगायतका विषयमा बिमा दर्ता सहयोगी प्रकाश खतिवडाले प्रस्ट पारेको कार्यक्रमको सञ्चालन वडा सचिव जयप्रसाद पोखरेलले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्